हेटौंडा,२७ मंसीरः ‘बिबिए/बिबिएम’मा उत्कृष्ट नतीजा दिँदै आएको मकवानपुर बहुमुखी क्याम्पसले बिबिएम आठौं सेमेस्टरमा शत प्रतिशत नतीजा प्राप्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले हिजो साँझ सार्वजनिक गरेको नतीजा अनुसार परीक्षामा सहभागी कूल ३४ विद्यार्थीमध्ये सबै सफल भई शत प्रतिशत नतीजा आएको मकवानपुर बहुमुखी क्याम्पसका बिबिए/बिबिएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।
प्राप्त नतीजा अनुसार २० जना विशिष्ट श्रेणी र १४ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । जसमध्ये रोजिना बुढाथोकी र राधा देवकोटाले समान ३ दशमलव ८५ एसजिपिए प्राप्त गरी टपर बनेका छन् ।

राधा देवकोटा (३.८५ SGPA)
निरन्तर मेहनत र सामुहिक कार्यले गर्दा उत्कृष्ट नतीजा सम्भव भएकोमा खुशी व्यक्त गर्दै मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।
क्याम्पसको बिबिए/बिबिएम कार्यक्रम अन्तर्गत २६० जना विद्यार्थी अध्ययनरत छन् ।