हेटौंडाः ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हेटौंडामा प्रभातफेरी र कोणसभा गरिएको छ । नागरिक समाजको संयुक्त आयोजनामा आज मंगलबार हेटौंडामा प्रभातफेरी र कोणसभाको आयोजना गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघ चोकबाट सुरु गरिएको प्रभातफेरीले बजार क्षेत्रको विभिन्न भागमा परिक्रमा गरी बुद्धचोक पुगेर कोणसभा भएको हो ।

गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश इञ्चार्ज बुद्धशरण लामाले रिबन काटेर प्रभातफेरीको उद्घाटन गरेका हुन् ।

कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रदेश प्रमुख कृष्ण गौतमले मानव अधिकारको घोषणा पत्रमा समावेश भएका सवालहरु निःशर्त लागु हुनुपर्ने बताए । उनले नागरिक समाज र सरकारसँग सहकार्य तथा खबरदारी गर्न इन्सेक तयार रहेको बताए । महिला बालबालिकाको मानव अधिकार बढी हनन हुन थालेको र दण्डहीनता अन्त्य पहिलो माग रहेको गौतमको भनाई छ ।

गैसस महासंघ ३ नम्बर प्रदेश अध्यक्ष दामोदर अर्यालले अझैसम्म मानव अधिकारको सवाल चुनौतीपूर्ण रहेको बताए । संबिधानले प्रदत्त गरेको अधिकार पनि नागरिकको पहुँच नपुगेको अध्यक्ष अर्याल बताए ।

कार्यक्रममा सञ्चारिका समूहकी ३ नम्बर प्रदेश अध्यक्ष सरिता दाहालले समाज लैङ्गिक हिंसा मुक्त भएमा मात्र मानव अधिकारको प्रत्याभुती हुने बताइन् । उनले मानव अधिकार प्रत्याभूतको लागि आमसन्चारबाट गर्नुपर्ने सबै काममा पत्रकारहरुको ऐक्यबद्धता रहेको स्पष्ट पारिन् । प्रभातफेरी तथा सभा कार्यक्रममा विभिन्न संघ, संस्थाका प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरु सहभागी थिए ।