हेटौंडा,२३ मंसीरः ३ नम्बर प्रदेश सरकारले यस प्रदेश भित्रका १३औं दक्षिण एशीयाली खेलकुद (साग)का बिजेताहरुलाई नगद पुरस्कार दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रीपरिषदको बैठकले जारी सागका ३ नम्बर प्रदेश भित्रका पदक बिजेता खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । प्राप्त जानकारी अनुसार स्वर्ण पदक बिजेतालाई १ लाख, रजत पदक बिजेतालाई ५० हजार र कास्य पदक बिजेतालाई २५ हजार नगद सहित सम्मान गर्ने निर्णय भएको छ । खेलाडीहरुलाई प्रोत्साहन गर्न उनीहरुलाई नगद पुरस्कार दिन लागिएको जनाइएको छ ।
बैठकले प्रदेश अनुसन्धान व्यूरो गठनका लागि सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ । यसैगरी जनता आवास कार्यक्रम कार्यान्वयन पहिलो संसोधन कार्यविधी २०७६ को स्वीकृत गर्ने, मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम संचालन कायबिधी २०७६ स्वीकृत गर्ने लगायतका निर्णयहरु गरिएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिए ।
यसैगरी विभिन्न अस्थायी कार्यालय तथा आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।