हेटौंडा,२३ मंसीरः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री भएपछि विशेष चासो लिएर महत्वका साथ हेरेका छन् । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता देखाएपछि धमाधम अगाडि बढेको हो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम सक्न निर्देशन दिएका हुन् । यही बर्ष फुटबल, क्रिकेट खेलका लागि मैदान तयार हुने गरि काम भैरहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । ‘देशकै उत्कृष्ट खेल मैदान बनाउने लक्ष्य छ’ उनले भने ।

‘प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकमले फुटबल मैदान बनाउने काम भइरहेको छ । हाल धमाधम फुटबल चौरको काम भैरहेको छ, भने पुस महिनाभित्र दुबो रोपिसक्ने लक्ष्य रहेको समितिको भनाई छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘यो हाम्रो प्रदेशको गौरवको योजना भएकाले बजेटको कमीले अब काम रोकिँदैन’, मुख्यमन्त्री पौडेलले भने ।

२३ बिघा जमिनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजना अनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुनेछ ।