हेटौंडा,२३ मंसीरः हेटौंडा उपमहानगरपालिका अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वडाध्यक्ष र सचिवले आज सपथग्रहण गरेका छन् ।
सानोपोखरास्थित नेकपा कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा नेकपा मकवानपुरका सहइञ्चार्ज कुमारी मोक्तान, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी लगायतका नेताहरुको उपस्थितिमा उपमहानगरका वडाध्यक्ष र सचिवहरुले सपथ लिएका हुन् ।
नेकपा हेटौंडा उपमहानगरपालिका अध्यक्ष रघु आचार्यको सभाध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा जिल्लाका नेताहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्दै नेकपा मकवानपुरकी सहइञ्चार्ज कुमारी मोक्तानले कम्युनिष्ट पार्टीका कार्यकर्ताले समाजमा भएको कुरिती हटाउन पहल गर्नुपर्ने धारणा राखिन् । आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै उनले भनिन्, ‘कम्युनिष्ट हुँ भन्ने तर घर छिमेकमा त्यही हिंसा र विभेद गर्न थाल्यौं भने हाम्रो के अर्थ हुन्छ?’
सरकारमा जाँदैमा वा भौतिक विकास गर्दैमा सामाजिक रुपान्तरण नहुने भन्दै उनले कस्तो संस्कार हामीले बसाल्ने हो त्यही नै महत्वपूर्ण हुने धारणा राखिन् । कम्युनिष्ट कार्यकर्ता वा कम्युनिष्ट पार्टीको सदस्यले सँधै गलत चिजको बिरुद्ध लाग्नुपर्नेमा सहइञ्चार्ज मोक्तानले जोड दिइन् ।
कार्यक्रममा बोल्दै नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले कम्युनिष्ट पार्टीको सदस्य भएर समाजमा हिंसा र विभेद गर्छ भने डण्डा लगाउन सक्नुपर्ने बताइन् । पार्टी एकतापूर्वको प्रसंग जोड्दै अध्यक्ष सिग्देलले ‘यताबाट र उताबाट भन्ने चिजको अब यहीँ अन्त्य हुुनुपर्छ’, भनिन् । अब पनि यही भनेर बस्ने हो भने पार्टी नरहने र गुट मात्र बाँकी रहने अध्यक्ष सिग्देलको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले संगठनलाई एकताबद्ध गरी अगाडी बढ्न नगरका अध्यक्ष तथा सचिवहरुलाई निर्देशन दिए । ‘भागवण्डाको अभ्यास यहीँसम्म हो, अब बिर्सनु पर्छ’, उनले भने ।
प्रत्येक वडामा १०÷१५ दिनभित्र वडा कमिटी निर्माण गरिसक्न पार्टीले सर्कुलर गरेको विषयमा पनि नेताहरुले वडाध्यक्ष र सचिवहरुलाई स्मरण गराएका थिए । सपथ ग्रहण कार्यक्रममा पार्टीका जिल्ला नेताहरु, नगर कमिटीका सदस्य तथा वडाध्यक्ष र सचिवहरु सहभागी थिए ।