हेटौंडा,२१ मंसीरः मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जको सातौं वार्षिक साधारणसभामा आँचलको संस्थापक उपाध्यक्ष तथा संस्थाको परिकल्पनाकार मध्येकी एक अप्सरा तिम्सिनाको सम्झनाले सबैलाई भावुक बनायो ।

साहित्य तथा शिक्षाको क्षेत्रमा क्रियाशील तिम्सिनाको गत साउन १२ गते अल्पायुमै निधन भएको थियो । उनै स्रष्टाको सम्झनामा उनका मातापिताले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७६ प्रदान गर्दै गर्दा तिम्सिनाका मातापिता गजाधर र यशोधराले आफूलाई सम्हाल्न सकेनन् । अप्सराका मातापितासँगै उनकी छोरी प्रसिद्धिका तथा आयोजक आँचलकी कार्यवाहक अध्यक्ष अनिता न्यौपाने लगायत दिवंगत अप्सराका साथीहरुले आँसु खसाल्दा सबै भावुक भए । तिम्सिनाको सम्झनामा स्थापना गरिएको पुरस्कार साहित्यकार आरसी रिजाललाई प्रदान गरिने थियो ।

रिजालसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई आँचलले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा सम्मान गरेको हो । आँचलका कार्यवाहक अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा साहित्यकार निमेष निखिल, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे, हेटौंडा–१० का सदस्य इन्द्र नेपाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पुरस्कार संस्थापकहरु, साहित्यकार तथा साहित्यानुरागीहरु सहभागी थिए ।