तस्वीरः मुख्यमन्त्रीको सचिवालय

हेटौंडा,१९ मंसीरः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच ३ नम्बर प्रदेश र तिब्बतबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

आज बिहिबार काठमाडौंमा भएको शिष्टाचार भेटमा मुख्यमन्त्री पौडेलले तिब्बतमा भएका विकास निर्माण कार्यहरु नेपालका लागि पनि अवसर भएको बताएका छन् । चीनसँग नेपालको सिमाना जोडिएकोले त्यहाँको विकासबाट पनि नेपालले फाईदा लिनसक्ने उनले बताए । यसैगरी नेपाल तथा चीनबीच सम्पन्न बीआरआई अन्तर्गत सहयोग सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन हिमालय वारपार बहुआयामिक सञ्जाल अन्तर्गत सडक, रेलमार्ग, हवाई यातायात, बन्दरगाह, तथा संचार क्षेत्रमा भएको विभिन्न समझदारीको उनले प्रशंसा गरे ।

मुख्यमन्त्री पौडेलले रसुवागढी–स्याफ्रुबेसी सडकको स्तरोन्नती कार्य सुरु भएको, केरुङ–काठमाडौं रेलमार्ग, रसुवागढी–काठमाडौं सुरुङमार्ग सम्भाव्यता अध्ययन समझदारी भएकोमा खुशी व्यक्त गरे । तातोपानी–जाङ्गमु सीमा नाका पुनः सूचारु गर्न तिब्बतको सहयोगको पनि उनले प्रशंसा गरेका थिए । कोरला–लिजी नाका खोल्ने सहमति भएको भन्दै थप नयाँ नाकाहरु हिल्सा–बुराङ्ग तथा किमाथाँका–छेन्ताङ्ग खोल्न सकेमा दुबै मुलुकलाई फाईदमा पुग्ने उनको विश्वास थियो । नेपाल र चीनबीच रहेको व्यापार घाटा न्युनीकरण गर्न नेपालका निर्यात योग्य बस्तुलाई तिब्बतमा प्रोत्साहन गर्न मुख्यमन्त्री पौडेलले आग्रह गरे ।

नेपालमा लगानीको अवसर छ भन्दै जलबिद्युत, सडक, कृषि, सीमापार रेलमार्ग, प्रसारण लाइन, पर्यटन, औद्योगिक पार्क, चीन–नेपाल मैत्री सांस्कृतिक पार्क, उच्च पहाडी तथा जडिबुटी प्रशोधन तथा हवाई सेगामा लगानी गर्न सकिनेमा मुख्यमन्त्री पौडेलले विश्वास दिलाए । वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई भ्रमण बर्षको घोषणा गरेको जानकारी गराउँदै चीन तथा तिब्बत सरकारले नेपाल भ्रमणका लागि प्रोत्साहन गराउन मुख्यमन्त्री पौडेलले आग्रह गरे ।

भेटका क्रममा तिब्बत जनसरकारका अध्यक्ष छिटालाले नेपालमा कृषि, पर्यटन, जलबिद्युत, सडकका क्षेत्रमा सहकार्य गर्न ईच्छुक रहेको बताए । नेपाल र तीब्बतबीच पुरानो सम्बन्ध रहेको भन्दै उनले सहकार्य गर्ने विश्वास दिलाए । नेपालले घोषणा गरेको भ्रमण बर्ष सन् २०२० सफल बनाउन तिब्बत सरकारले पनि सहयोग गर्ने वचन दिए ।