हेटौंडा,१९ मंसीरः महिलामाथि हुने हिंसा अन्त्यका लागि पुरुषको सहभागिता आवश्यक रहेको निश्कर्षसहित यस अभियानमा पुरुषहरुको सहभागिताका लागि आज मनहरीमा पुरुष सहभागिताबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।

महिला हिंसा अन्त्य गर्न र महिला अधिकार सुनिश्चितताका लागि पुरुष सहभागिताबारे अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा मकवानपुर महिला समूहले पुरुषहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै समूहकी अध्यक्ष कमला सुवेदीले पुरुषहरुको सहयोग र साथबाट मात्र महिला अधिकार सुनिश्चितताको अभियान सफल हुने भएकोले पुरुष सहभागितामा जोड दिएको बताइन् ।

कार्यक्रमका सहभागीहरुलाई स्वागत गर्दै मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले समुदायमा रहेका पुरुषहरुलाई समूहमा सहभागी गराउँदा राम्रो प्रतिक्रिया पाएको बताइन् । महिला हिंसा न्यूनीकरणमा पुरुषको साथ महत्वपूर्ण रहेको स्वीकार गर्दै उनले कार्यक्रममा सहभागी पुरुषहरुबाट यस अभियानमा साथ पाउने विश्वास व्यक्त गरिन् । सामाजिक अभियन्ता तथा बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले कार्यक्रमको सहजीकरण गरेका हुन् ।

लैंगिक हिंसा न्यूनीकरणका लागि पुरुष सहभागिता सम्बन्धमा स्थानीय सरकार समेत सकारात्मक देखिएको अवस्थामा यस किसिमको कार्यक्रम निकै उपलब्धीमूलक रहेको प्रशिक्षक खतिवडाको धारणा छ । कार्यक्रममा मनहरी गाउँपालिका–३ र ७ नम्बर वडाका पुरुष समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।