सुनसरीः एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा सुनसरीमा ७ जनाको मृत्यु भएको छ । ट्रक र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।
वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई शनिबार राति १२ः२० मा ठक्कर दिएको थियो । १ नम्बर प्रदेशका ट्राफिक प्रहरी प्रमुख भीम दाहालको अनुसार सातै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्। प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।
घटनाको प्रकृति हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान शर्माको छ । उनले दुबै सवारीसाधन ७० / ८० किमी प्रतिघण्टाको गतिमा हुनुपर्ने बताए । उनका अनुसार ठक्कर खाएपछि उछिट्टिएको एम्बुलेन्स सडकमा उल्टो बजारिएको थियो । उनले मृतकहरूलाई एम्बुलेन्सबाट निकाल्नै ४ घण्टा लागेको बताए । एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो ।