हेटौंडा,११ मंसीरः “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद, सबैको लागि खेलकूद” भन्ने मूल नाराका साथ हेटौंडा–१२ खेलकूद समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका–१२ र १३ वडा स्तरीय महिला पुरुष भलिवल प्रतियोगिता आजबाट हात्तीगौंडामा सुरु भएको छ ।
उद्घाटन खेलमा ‘भोर्ले ए’ विजयी भएको छ । विजय किसान कृषि फर्मलाई २५/१४ र २५/१३ को सोझो सेटमा पराजित गर्दै ‘भोर्ले ए’ उद्घाटन खेलको विजेता बनेको हो । ‘भोर्ले सी’ र ‘हात्तीगौंडा बी’ बीच आज भएको अर्को खेलमा २५/२० र २५/१२ को सेटमा ‘हात्तीगौंडा बी’ ले जित हात पारेको छ । त्यस्तै, ‘भोर्ले बि’ र ‘बनस्पती युवा क्लब’बीच भएको आजको अर्को खेलमा २५/१७ र २५/१३ को सोझो सेटमा ‘बनस्पती’ले जीत हासिल गरेको छ ।
खेलाडीहरुलाई भलिवल हस्तान्तरण गरेर ३ नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा हेटौंडा–१२ का वडा सदस्य तथा १२ नम्बर वडा खेलकूद विकास समितिका संयोजक भुवन खनालको सभाध्यक्षता तथा १२ नम्बर वडाध्यक्ष ललित घलानको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा टोल विकास समन्वय समितिका प्रमुख राजेश नगरकोटी, खेलकूद विकास समितिका सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, समाजसेवीहरु लगायत स्थानीय खेलप्रेमीहरु उपस्थित थिए । मंसीर १३ गते समापन हुने प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा दोस्रो हुनेले नगद २० हजार तथा तेस्रो हुने टिमले नगद १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका व्यवस्थापक मनोज लामाले जानकारी दिए ।
व्यवस्थापक लामाका अनुसार प्रतियोगितामा २ महिला समूहसहित ११ वटा टिम सहभागी छन् । ९ वटा समूह प्रतियोगितामा खेल्नेछन् भने खेल समापनका अवसरमा महिलाहरुबीचको मैत्रीपूर्ण भलिवल खेल्नेछन् । महिलाहरुको मैत्रीपूर्ण भलिवलको विजेताले ५ हजार रुपैयाँ तथा उपविजेताले २ हजार ५ सय रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा अनुशाशित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर र उत्कृष्ट कोचका लागि विधागत पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलमा महिलाहरुको पनि सहभागिता छ ।