हेटौंडा,११ मंसिरः मकवानपुर जिल्लामा ७ बालबालिकासहित २ सय ६८ जना एण्टी रेट्रो भाईरल (एआरटी) सेवनकर्ता रहेको पाइएको छ ।
हेटौंडा अस्पतालमा भएको एण्टी रेट्रो भाईरल सेन्टरमा उपलब्ध तथ्यांङ्क अनुसार यस जिल्लामा ७ बालबालिकासहित २ सय ६८ जनाले एआरटी सेवन गर्ने गरेको आज हेटौंडामा आयोजित अन्तरक्रियामा बताइएको हो ।
हेटौंडा अस्पतालबाट एआरटी सेवन गर्ने संक्रमितमध्ये २२ जनाको मृत्यू भैसकेको र २७ जना जिल्ला बाहिरबाट सेवा लिइरहेको तथ्याङ्कमा उल्लेख छ । प्राप्त तथ्यांक अनुसार मकवानपुरमा भएका जम्मा संक्रमितमध्ये १ सय जना महिला र ९५ जना पुरुष तथा २ जना तेस्रो लिंगी छन् । साथै, १६ जना सम्पर्कबिहीन रहेको समेत तथ्याङ्कमा उल्लेख छ । हाल २ जनालाई क्षयरोग समेत लागेकोले उपचार जटिल भएको हेटौंडा उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य क्षेत्रका कर्मचारी भोला चौलागाईंले बताए ।
लामो समयदेखि यस क्षेत्रमा काम गर्दै संक्रमितहरुको अधिकारका लागि क्रियाशील गोकुल लामाले कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै स्थानीय सरकारले यस क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । उनले बिगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिनुपर्ने सुझाव राखे । साथै, संक्रमितको पहिलो प्राथमिकता स्वास्थ्य र अधिकार रहेको भन्दै उनले त्यसतर्फ ध्यान दिन हेटौंडा उपमहानगरपालिकालाई सुझाव पनि दिए ।