हेटौंडा,१० मंसीरः राष्ट्रिय मानव अधिकार आयोगले आज हेटौंडामा सञ्चालन गरेको ३ नम्बर प्रदेश स्तरीय विश्वव्यापी आवधिक समीक्षा कार्यक्रममा नागरिकसँगै जनप्रतिनिधिले समेत गुनासो राखेका छन् ।

प्रदेशमा नागरिकको मानव अधिकारका सवालमा छलफल चलिरहँदा मञ्चबाट सम्बोधन गर्ने जनप्रतिनिधिले समेत आफ्ना गुनासा राखेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मकवानपुरका अध्यक्ष तथा ३ नम्बर प्रदेशसभा सदस्य मुनु सिग्देलले राजनीतिक दलमा आबद्ध महिलाको सवालमा बोल्दै क्षमतावान व्यक्तिहरु समेत महिला भएकै कारण पछि पर्नुपरेको बताइन् । “पार्टी र संगठनलाई राम्रोसँग हाँक्न सक्ने, क्षमता भएका महिलाहरु समेत समानुपातिकमा खुम्चिनु परेको छ”, उनले भनिन् । महिला भएकै कारण पार्टीमा कम विश्वास गरिने र प्रत्यक्ष निर्वाचनमा अवसर नदिइने गरेको गुनासो यसअघि पनि महिला नेतृहरुले गर्दै आएका छन् ।

कार्यक्रममा विश्वव्यापी आवधिक प्रतिवेदन माथि छलफल तथा कार्यपत्र प्रस्तुत भएका थिए । प्रस्तुत कार्यपत्रमाथि सभामा उपस्थित विभिन्न संघ, संस्थाका प्रतिनिधिले टिप्पणी गरेका थिए । साथै, प्रदेश ३ मा मानव अधिकारको अवस्थाबारे छलफलका लागि समूहगत अभ्यास पनि गरिएको थियो । समुहगत प्रस्तुतीमा विभिन्न जिल्लाबाट सहभागी भएका प्रतिनिधिले आफ्नो जिल्लाको अवस्थाबारे समुहमा जानकारी गराउँदै यस प्रदेशभित्र समग्रमा मानव अधिकारको अवस्थाबारे लेखाजोखा गरेका थिए ।
केन्द्रीय राजधानी समेत रहेको यस प्रदेशमा तुलनात्मक रुपमा मानव अधिकारको प्राप्तिको अवस्था सन्तोषजनक रहेपनि अझै धेरै सुधार हुनुपर्नेमा सहभागीहरुले जोड दिए । सभा समापनका क्रममा सहभागीहरुलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले सकारात्मक सोच र भिजनका साथ अघि बढे नेपालीहरुको छिटै उन्नती हुनेमा कुनै शंका नरहेको बताए ।

राष्ट्रिय मानवअधिकार आयोगको आयोजनामा सञ्चालन भएको कार्यक्रममा आयोगका सदस्य सुदिप पाठकको सभाध्यक्षता तथा ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश ३ अन्तर्गत विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।