हेटौंडा: ‘समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ आजबाट देशभर लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइएको छ । मकवानपुरमा पनि आज बिहान र्याली र कोणसभा गरी दिवसको औपचारिक कार्यक्रम सुरु गरिएको हो ।
हेटौंडाको भुटनदेवी विद्यालय प्राङ्गणबाट सुरु भएको र्याली पारिजातपथ, कान्तिराजपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै ३ नम्बर प्रदेशसभा सदस्य कुमारी मोक्तानले लैंगिक हिंसाको अन्त्य गर्न सबैले आफैबाट सुरु गर्नुपर्ने विचार व्यक्त गरिन् ।
समाजमा हिंसाको जडको रुपमा रहेको कुरिती, कुसंस्कार हटाउँदै सबैखाले विभेद र हिंसाको अन्त्यका लागि सम्पूर्ण पक्षहरुको निरन्तर प्रयास जरुरत हुने प्रदेशसभा सदस्य मोक्तानको भनाई छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको सभाध्यक्षतामा सञ्चालन भएको सभामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाईंदै आएको लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रमलाई सफल पार्न मकवानपुरमा जिल्ला समन्वय समितिको नेतृत्वमा जिल्लास्थित गैर सरकारी संस्थाहरु समेटिएको आयोजक मूल समारोह समिति छ । मूल समारोह समितिको आयोजनामा सञ्चालित कार्यक्रममा जिल्लास्थित विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, राजनीतिक तथा सामाजिक अभियन्ताहरु सहभागी थिए ।