हेटौंडाः मोबाइललाई पत्रकारितामा उपयोगी बनाउने उद्देश्यका साथ ३ नम्बर प्रदेशको सञ्चार रजिष्ट्रार कार्यालयले प्रदेशका पत्रकारलाई दिइरहेको तालिम अन्तर्गत ५ जिल्लाका पत्रकारहरुको लागि आजबाट धादिङमा तालिम सुरु भएको छ ।
पहिलो चरणमा काभ्रेपलाञ्चोकमा प्रदेशको उत्तरी क्षेत्रमा रहेका जिल्लाका पत्रकारहरुलाई समेटेर तालिम आयोजना भएकोमा कार्यालयले दोस्रो पटक धादिङमा यस्तो तालिमको आयोजना गरेको हो । कार्यक्रममा मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवाका पत्रकारहरु सहभागी छन् । पत्रकारितामा नवीनतम प्रयोग र प्रभावकारी सञ्चारका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिजम (मोजो) तालिम आयोजना गरिएको हो ।

धादिङको मलेखुमा सञ्चालन भइरहेको तालिममा २० भन्दा बढी पत्रकारको सहभागिता रहेको बुझिएको छ । तालिममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने लगायतका सीप सिकाइने छ ।

तालिममा सहभागी पत्रकारहरुलाई सम्बोधन गर्दै सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारिताको दैनिक काममा मोबाइल प्रयोग हुन थालेपछि पत्रकारलाई नयाँ प्रविधि र ज्ञान सीपको आवश्यक्ता पूरा गर्न तालिम आयोजना भएको बताए ।

ग्लोबल जर्नालिजमको अवधारणालाई आम पत्रकारिता जगतमा पुर्याउनुका साथै मोफसलमा रहेर पत्रकारिता गर्ने पत्रकारले आफूलाई लोकल जर्नालिजम हो भनेर सङ्कुचित रुपमा सोच्ने गरेका कारण अब प्रविधि र मिडियाको प्रयोगको पहँुच असीमित हुने गरेको कारण लोकल नभई ग्लोबल हो भन्ने धारणामा परिवर्तन ल्याउन तालिमले उत्प्रेरण दिने उनले उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले मोबाइलबाट फोटो खिचेर तालिम उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री जमकट्टेलले व्यवस्था मात्र असल ल्याएर नहुने बताए । अहिले व्यवस्था ठीक ल्याएपनि व्यवहारमा परिवर्तन नहुँदा परिवर्तनको अनुभूति हुन नसकेको मन्त्री जमकट्टेलको भनाई छ ।

प्रेस रजिस्ट्रार रेवती सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ ३ नम्बर प्रदेशका उपाध्यक्ष यदु गौतम, महासचिव कृष्ण सारु मगर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, प्रहरी उपरीक्षक राजकुमार बैदावार, धादिङको सिद्दलेक–४, का अध्यक्ष रामहरि बराकोटी, पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले मन्तव्य व्यक्त गरे ।