हेटौंडा,८ मंसीरः दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौंडामा पत्रकारहरुले र्याली तथा कोण सभा गरेका छन् । आज बिहान हेटौंडा बजारको सीमाचोकबाट सुरु भएको र्याली बुद्धचोक हुँदै पुनः सीमाचोकमा पुगेर कोणसभा भएको हो ।

पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै नेपाल पत्रकार महासंघ प्रदेश ३ ले ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा कार्यक्रमको आयोजना गरेको हो ।

सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्टले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएको विचार व्यक्त गरे । सही अर्थमा लोकतन्त्रको अभ्यास भएमा न्याय र स्वतन्त्रताको वातावरण बन्ने र त्यसले स्वतः दण्डहीनता अन्त्यको अवस्था सृजना हुने अध्यक्ष विष्टको धारणा थियो ।

पत्रकार तथा सञ्चार माध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न, पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्न दवाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगरले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, अध्यक्ष हरि हुमागाईं लगायत हेटौंडामा क्रियाशील पत्रकारहरु सहभागी थिए ।