हेटौंडाका सडकमा देखिएको विरोध जुलुस

हेटौंडा,६ मंसीरः सामुदायिक वन उपभोक्ता महासंघमा आबद्ध मकवानपुरका नागरिक सरकारको विरोध गर्दै आज सडकमा उत्रिएका छन् । सामुदायिक वनमाथि सरकारले तेहेरो कर लगाएको भन्दै संघर्षमा उत्रिएका उनीहरुले आज हेटौंडा बजारको सडकहरुमा सरकार बिरुद्ध प्रदर्शन गरेका हुन् ।

सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेशको आयोजनामा हेटौंडामा भएको कार्यक्रममा सरकारले सामुदायिक वनमाथि लगाएको तेहेरो करको बिरुद्धमा नारावाजी तथा विरोध प्रदर्शन गरिएको थियो । बुद्धचोकमा चारैतिरबाट विरोध र्याली आउँदा सडक प्रदर्शनकारीले भरिएको थियो भने चारैतिर यातायातका साधन केहीबेर ठप्प रहे । फरेस्टी गेट, सानोपोखरा, चौकीटोल र राप्ती पुलबाट आएको र्याली बुद्धचोक हुँदै पुगेर ट्राफिक प्रहरी कार्यालय अगाडी भेला भई विरोध सभा भएको थियो ।

विरोध सभालाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले महासँग अन्तर्गतको २२ हजार संगठन सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई सार्थक बनाउने कार्यमा सहकार्य गर्न तयार रहेको बताएकी छन् ।
सामुदायिक वन उपभोक्ता महासंघले वनबाट नै उद्यम विकास र युवा स्वरोजगारको कार्यलाई अगाडी बढाउने नीति लिएको भन्दै गरिब किसानले पालेको वनको आम्दानी किसानकै गोजीमा पुर्याउन सरकारले पनि भुमिका खेल्नुपर्ने अध्यक्ष पाठकले बताइन् ।

सामुदायिक वन उपभोक्ता समुहले आफ्नो आम्दानीको २५ प्रतिशत वन विकास कोषमा, ४० प्रतिशत विकास कार्य र ३५ प्रतिशत गरिब विपन्न समुदायको लागि लगानी गरिरहेको दृष्टान्त प्रस्तुत गर्दै अध्यक्ष पाठकले सरकारले तीन तहमा नै कर लिनुको औचित्य नभएको बताइन् । उनले भनिन्, “सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने संकल्पलाई सार्थकता दिन सामुदायिक वन उपभोक्तालाई पूर्ण व्यवस्थापनको अधिकार दिनुपर्छ ।” सामुदायिक वनको जल, जंगल र जडिबुटीको व्यवस्थापन गरेर रोजगारी सृजना गर्न सामुदायिक वन उपभोक्ता समूह आतुर भएको अवस्थामा सरकारले सामुदायिक वनलाई प्रतिपक्षको रुपमा नहेर्न पनि उनले आग्रह गरिन् ।

अध्यक्ष पाठकले संविधानमा व्यवस्था भए अनुसार प्राकृतिक स्रोतमा स्थानीय समुदायको निर्णय हुने गरी कानुन निर्माण गर्न सरकारलाई आग्रह पनि गरिन् । सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेशका अध्यक्ष बिनोद सापकोटाले एक ठाँउमा कर तिर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा महासंघको प्रदेश उपाध्यक्ष कृष्ण श्रेष्ठ, चितवन अध्यक्ष भरत ढुंगाना, मकवानपुर जिल्ला अध्यक्ष साधुराम चौलागाईं लगायतले विभिन्न जिल्लाका अभियानकर्मी र वन उपभोक्ताहरु सहभागी थिए ।