हेटौंडाः एक होटलमा आपत्तिजनक अवस्थामा महिलासँग फेला परेका भनिएका चुरियामाई माबिका प्रधानाध्यापक बिष्णु परियारले आफु निर्दोष रहेको बताएका छन् । उनले एक रेडियो कार्यक्रममा बोल्दै आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको दाबी गरेका हुन् ।
४/५ जना साथीभाई खाजा खाईरहेको वेलामा प्रहरीले समातेर लगेको उनले बताएका छन् । ‘समाचारमा जे आयो त्यो सत्य होइन’ भन्दै उनले, “अनैतिक क्रियाकलाप नगरेको र प्रहरीले सबैलाई समातेर लैजाँदा आफूहरु पनि त्यसमा परेको” बताए । आफूहरुलाई ‘किन समातेको?’ भन्दा प्रहरीले ‘माथिको आदेश हो’ भन्दै लान खोजेको र त्यस क्रममा प्रहरीसँग बिवाद पनि भएको उनले बताएका छन् ।
‘अनैतिक क्रियाकलाप गरेको’ भनेर समाचार आएछ तर वास्ताविकता त्यसो नभई प्रहरीसँग आफ्नो विवादले गर्दा ‘अभद्र व्यवहार’को मुद्धा चलाएको उनले बताएका छन् । ‘हाम्रो गल्ती भनेको प्रहरीमाथि गालीगलौज गर्नु हो त्यहि कारणले यस्तो भएको’ भन्दै सबैमा सहि सत्य बुझ्न समेत उनले आग्रह गरेका छन् ।
उनले ‘यो घटना सत्य हुँदै होइन, गल्ती गरेकोले मात्रै विष लाग्ने नत्र नलाग्ने’, भन्दै उनले हल्लाको पछि नलाग्न समेत सबैमा आग्रह गरे ।
‘अब विद्यालयमा फेरी प्र.अ भएर संचालन गर्नुहुन्छ कि?’ भन्ने प्रश्नमा उनले २०४६ सालदेखि शिक्षण पेसामा आवद्ध छु, २०५२ सालदेखि यस विद्यालयमा आवद्ध रहेको छु, आफ्नो घरभन्दा विद्यालयलाई प्राथामिकता दिँदै आएको छु, २०५३ सालमा निमावि, २०६३ सालमा मावि र २०७३ सालमा उच्च मावि संचालन गरेको छौँ र विद्यालयको चौतर्फी विकासको लागि सदैव तयार रहनेछु’ भने ।