हेटौंडा,४ मंसीरः स्थानीय किसानहरुबाट सिंचाईको समस्या उठिरहेका बेला भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पर्साले ३ करोड ५० लाखको लागतमा यसवर्ष १७ वडा डिप ट्युबेल जडान गरी विभिन्न स्थानमा सिँचाई सुविधा पुर्याएको छ ।
प्रदेश नं. २ सरकारको निशर्त अनुदान कार्यक्रम अन्तर्गत बारा र पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा उक्त डिप ट्युबेल निर्माण गरिएको कार्यालयको प्राविधिक शाखाले जनाएको छ । कार्यालयका अनुसार बाराका ११ र पर्साका ६ स्थानमा डिप ट्युबेल जडान गरिएको हो ।
उपभोक्ता समिति मार्फत गरिएको उक्त कार्यक्रमबाट ४ सय २५ बिगाहा जमिन सिंचित भइरहेको बताइएको छ । उक्त डिप ट्युबेल पर्साको बीरगंज उपमहानगरपालिका–२, पोखरिया, बगही, निचुटा र धोवनीमा तथा बाराको फेटागाउँ, विश्रामपुर, पचरौता, गञ्जभवानीपुर, स्वर्ण गाउँपालिका, तेलकुवाँ र प्रष्टोकामा निर्माण गरिएको हो ।
एउटा डिप ट्युबेलमा करिब २० लाख रुपैयाँ खर्च लाग्ने गरेको कार्यालयले जनाएको छ । डिप ट्युबेल निर्माणले लामो समयदेखि सिँचाईको अभाव भएको ठाउँमा ठूलो सहयोग पुगेको प्रष्टोकाका रामलखन यादवले भन्नुभयो ।
सुरेश झा/रासस