हेटौंडा,४ मंसीरः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि हिजो मंगलबारबाट सुरु गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन आज बुधबार ५ लाख रुपैयाँ दान संकलन भएको छ ।

प्रख्यात बाचन पण्डित दिनबन्धु पोख्रेलले बाचन गरिरहेको महायज्ञको दोस्रो दिन ५ लाख रकम संकलन भएको हो । यसअघि हिजो उद्घाटनका दिन २२ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो । महायज्ञको सुरु दुई दिनमा २७ लाख ५० हजार संकलन भएको लेखा समिति संयोजक विनोद घिमिरेले जानकारी दिए ।

मंसीर ३ गतेबाट मंसिर १० गतेसम्म संचालन हुने श्रीमद् भागवत सप्ताह महायज्ञबाट उठेको रकमले गोरक्षनाथ माविमा प्राविधिक शिक्षा पठनपाठन गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले बताएका छन् । महायज्ञबाट करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले जानकारी दिए ।