हेटौंडा,४ मंसीरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको सबै (१० वटै) स्थानीय तहका पार्टी कमिटीले पूर्णता पाएका छन् । आज बुधबार नेकपा हेटौंडा उपमहानगरपालिका कमिटीको सपथ ग्रहणसँगै जिल्लाका १० वटै स्थानीय तहको सपथ ग्रहण पनि सकिएको हो ।
आज एक सय १ सदस्यीय नेकपा हेटौंडा उपमहानगरकमिटीले सपथ ग्रहण गरेको नेकपा मकवानपुरका सचिव प्रेमबहादुर पुलामीले जानकारी दिए ।

अन्य स्थानीय तहका कमिटीले यसअघि नै सपथ ग्रहण गरिसकेका थिए । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तहको रुपमा रहेको हेटौंडा उपमहानगरपालिकामा सपथ ग्रहणमा केही ढिलाइ भएको बुझिएको छ ।

नेकपा हेटौंडा उपमहानगरकमिटी टिमलाई नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले सपथ ग्रहण गराएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी पार्टी एकता भएपछि केन्द्र, प्रदेश हुँदै जिल्ला तथा स्थानीय तहमा पनि संगठन निर्माण गरी नेकपामा सपथ ग्रहण गराइएको हो । कतिपय स्थानीय तहमा वडा कमिटी समेत निर्माण भई सपथ ग्रहण भइसकेको छ भने पार्टीका विभिन्न तहका कमिटीहरु एकता, नयाँ टिम निर्माण र सपथ ग्रहणले तीब्रता पाएका छन् ।

नेकपा ३ नम्बर प्रदेशका संगठन विभागका प्रमुख अनन्त पौडेल, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देल, नेकपाका जिल्ला सचिव प्रेमबहादुर पुलामी, पार्टीका जिल्ला सचिवालय सदस्य तथा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महत लगायतले सपथ ग्रहण कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका नेताहरु कुमारी मोक्तान, रामचन्द्र राई, रघुनाथ खुलाल, ललित घलान, बद्री लम्साल, श्रीधर पोख्रेल, बलराम बल, जुनेली श्रेष्ठ लगायतका सहभागी थिए ।