हेटौंडा,१ मंसीरः आन्तरिक राजश्व कार्यालय, हेटौंडाका प्रमुख सन्तबहादुर ढकालले कर दिनेको संख्या बृद्धि हुँदै गएको बताएका छन् । आठौं राष्ट्रिय कर दिवस उद्घाटन समारोहमा बोल्दै प्रमुख ढकालले कार्यालयको तथ्यांकका आधारमा करदाताको संख्या बृद्धि भएको दावी गरेका हुन् ।
प्राप्त तथ्यांक अनुसार कार्यालयमा ३१ हजार ४९७ करदाता व्यक्तिगत प्यानमा दर्ता भएका छन् । कार्यालयमा कर दिनेको सहभागिता बृद्धि भएको दाबी गर्दै प्रमुख ढकालले कार्यालय स्थापनादेखि हालसम्म भ्याटमा ४ हजार ३३७, अन्तशुल्कतर्फ १ हजार ४२९ र आयकर तर्फ २० हजार ९३६ दर्ता भएको जानकारी दिए ।
“आठौं स्वच्छ कर प्रशासन, विकास र सुशासन” भन्ने मूल नाराका साथ आठौं राष्ट्रिय कर दिवस हेटौंडामा आजबाट सुरु भएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुललाले दिवसको उद्घाटन गरेका थिए ।
आन्तरिक राजश्व कार्यालय हेटौंडाको आयोजनामा सञ्चालन भएको दिवस उद्घाटन कार्यक्रममा जिसस प्रमुख खुलालले देशमा करमैत्री वातावरण बनाउनुपर्ने विचार व्यक्त गरे । त्यसैगरी ३ नम्बर प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा. मुकुन्द पौडेलले देशमा करका लागि नयाँ नयाँ क्षेत्र जन्मिएको भन्दै ती क्षेत्रमा पनि करको दायरा बढाउन जरुरी रहेको बताए । कर क्षेत्रमा सुधार आवश्यक रहेको भन्दै उनले यसतर्फ राजश्व प्रशासनले ध्यान दिन जरुरी रहेको विचार व्यक्त गरे ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले कर प्रणालीमा राज्यले भिसिटिसी लागु गरेको जानकारी दिँदै गाउँ गाउँमा इन्टरनेट सुविधा नभएका कारण यस प्रणाली अव्यवहारिक भएको बताए । आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो । कर सप्ताहको सात दिनमा जनचेतनामूलक कार्यक्रम, प्रचार प्रसार तथा उद्योगी व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।