हेटौंडाः ३ नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले प्रदेश सरकार उद्योग चलाउनेको साथमा रहेको बताएका छन् । हेटौंडामा भेला भएका व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले उद्योग संचालन गर्न चाहनेलाई प्रदेश सरकारले प्रोत्साहन स्वरुप सहयोग गर्ने आश्वासन दिएका हुन् ।

युएनडिपीको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नम्बर—३ र उद्योग वाणिज्य संघ मकवानपुरको व्यवसाय र मानव अधिकार सम्बन्धी संवाद आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै मन्त्री लामाले व्यवसायीहरुलाई कृषि उद्यममा प्रशस्त सम्भावना रहेको र अत्मनिर्भर बन्ने माध्यम पनि भएकोले यसलाई आत्मसाथ गर्न अनुरोध गरे । “उद्योग संचालन गर्न जानुस् के—के गर्नुपर्छ प्रदेश सरकार तयार छ”, उनले भने ।

कम लगानीमा बढी प्रतिफल लिन सकिने भन्दै मन्त्री लामाले कृषि उद्यममा लगानी गर्न आग्रह गरे । उद्योग वाणिज्य संघ प्रदेश नम्बर—३ का अध्यक्ष दिनेश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिण्द्र गौतमले व्यवसाय तथा मानव अधिकारको विषयमा कार्यपत्र पेश गरेका थिए ।