तालिम उद्घाटन कार्यक्रममा मन्तव्य दिँदै मन्त्री लामा

हेटौंडा,३० कात्तिकः देशमै पहिलो पटक पशुकल्याण सम्बन्धी पत्रकारिता तालिम आजबाट हेटौंडामा शुरु भएको छ ।

पशु र मानवबीचको सम्बन्धलाई मध्यनजर गरेर देशका विभिन्न जिल्लाका २५ जना पत्रकारलाई तालिम दिन सुरु गरिएको नेपाल प्रेस इन्स्टिच्यूटका उपाध्यक्ष मन्टेश्वरी राजभण्डारीले जानकारी दिइन् ।

पशुकल्याण सम्बन्धी पशु तथा प्रकृतिप्रेमी पत्रकार सञ्जाल निर्माणमा सघाउने उद्धेश्यले तालिम थालिएको हो । कार्यक्रममा ३ नम्बर प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले समृद्धिको लडाईं बाँकी रहेको बताएका छन् । अहिलेको अवस्थामा राष्ट्रिय एकता कायम गरेर सबै एकजुट हुनका लागि उनले आग्रह गरे ।

कार्यक्रममा ३ नम्बर प्रदेश सभा सदस्य मुनु सिग्देलले मानव अधिकारसँगै पशुको अधिकारका क्षेत्रमा पनि आवाज उठाउनुपर्ने धारणा राखिन् । पशुको पनि बाँच्ने अधिकारको सबैले रक्षा गर्नुपर्ने भन्दै उनले हिन्दु धर्मको नाममा राजनीति गर्ने तर गाइलाई भीरबाट खसाल्ने प्रवृत्तिको आलोचना गरिन् ।

तालिम उद्घाटन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेश अध्यक्ष प्रताप विष्ट, खोज पत्रकारिता केन्द्रका अध्यक्ष चन्द्रकिशोर, नेपाल पशुकल्याण संघका अध्यक्ष तथा पशु अधिकारकर्मी स्नेहा श्रेष्ठ, ह्युमन सोसाइटी इन्टरनेशनल नेपालका निर्देशक तनुजा बस्नेत लगायतले मन्तव्य दिए ।

धार्मिक मान्यता अनुसार नेपालमा एकातिर पशुपंक्षीलाई पुज्ने गरिन्छ, भने अर्कातिर उल्लेख्य संख्यामा विद्यमान पशु क्रुरतालाई बेवास्ता गरेको पाइन्छ । पशु क्रुरताको चरम रुप परम्परागत वलीप्रथा नेपालमा पाइन्छ ।

नेपाल प्रेस इन्स्टिच्यूटको आयोजना, ह्युमन सोसाइटी इन्टरनेशनल नेपालको साझेदारी तथा नेपाल पशुकल्याण संघसँगको सहकार्यमा तालिम सञ्चालित तालिम २ दिनसम्म चल्नेछ ।