कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडा

हेटौंडा,२९ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मकवानपुरका इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले अब देशको नेतृत्व कम्युनिष्ट पार्टीले गर्ने बताएका छन् । विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने ९२ जनालाई स्वागत गर्दै उनले देश विकासका लागि कम्युनिष्ट नेतृत्व सरकारको विकल्प नभएको बताएका हुन् ।

मकवानपुरको बकैया गाउँपालिका–७ मा आज भएको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि रहेका उनले अब कम्युनिष्ट नेतृत्व सरकार विना राष्ट्रको कल्पना गर्न नसकिने बताए । नेपाली कांग्रेसले युवाहरुलाई झुठो आश्वासन बाहेक केही नदिएको आरोप लगाउँदै सांसद खतिवडाले देशको नेतृत्व गर्न सक्ने एउटै शक्ति भनेको कम्युनिष्ट पार्टी रहेको दावी गरे ।

कार्यक्रममा सो पार्टीको ७ नम्बर वडा कमिटीका २९ जना सदस्यलाई सपथ ग्रहण गराइएको थियो ।

राप्रपाको तर्फबाट ७ नम्बर वडा अध्यक्षका उम्मेदवार पवनसिङ गुरुङको नेतृत्वमा वडा सदस्यका उम्मेदवार रामकुमार तितुङ सहित ४२ जना नेकपामा प्रवेश गरेका छन् । त्यस्तै, नयाँ शक्ति पार्टीको वडा अध्यक्ष उम्मेदवार मदन लोप्चनको नेतृत्वमा २० जना र नेपाली कांग्रेस वडा सह कोषाध्यक्ष रुपक ढुङ्गेलको नेतृत्वमा ३० जना नेकपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्दै उनीहरुले केही परिबन्ध र परिघटनाले आफू पार्टीबाट अलग जस्तो भएपनि सँधै नेकपाकै अभिन्न अङ्गको रुपमा रहँदै आएको र अझै पनि कम्युनिष्टप्रति उत्तिकै बफादार रहेको बताएका थिए ।

नेकपामा प्रवेशपछि आफ्नो भनाई राख्दै नवप्रवेशीहरु

बकैया गाउँपालिकाको आयोजना तथा ३ नम्बर प्रदेश सभा सदस्य कुमारी मोक्तानको विशेष आतिथ्यतामा सञ्चालित वडा कमिटी सपथ ग्रहण कार्यक्रममा नेकपा–७ नम्बर वडा अध्यक्ष भोजराज लामिछानेको सभाध्यक्षता रहेको थियो ।