हेटौंडा,२८ कात्तिकः ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले अझै पनि जनताले समानताको अनुभूति गर्न नपाएको बताएका छन् ।
‘पत्रकार सुरक्षा र दण्डहीनताको सवाल’मा आज मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
स्वतन्त्र न्याय र समानताको कुरा गर्दा जनताको अवस्था आजसम्म पनि साह्रै कमजोर रहेको भन्दै उनले पत्रकारिता क्षेत्रमा पनि यही अवस्था रहेको बताए । यस्ता विभेदको अन्त्य जरुरी भएकोमा मन्त्री जमकट्टेलले जोड दिए । यसो हुनुमा व्यक्ति भन्दा पनि राज्य प्रणालीको नै दोष भएको उनको भनाई छ ।
कार्यक्रममा हालसम्म देशमा ९७ जना पत्रकारमाथि प्रेस बिरोधी गतिविधि भएको तथ्य सार्वजनिक गरिएको छ । जसमध्ये ३ नम्बर प्रदेशमा ३७ वटा घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ ।
मन्त्री जमकट्टेलले पत्रकारको सुरक्षाको सवालमा उल्लेखित तथ्यांकबारे आफू जानकार नरहेको भन्दै आगामी दिनमा त्यसबारे विचार गर्ने वचन दिए । देशलाई शान्ति प्रक्रिया हुँदै यय अवस्थासम्म ल्याउन सबैको अथक योगदान रहेकोमा जोड दिँदै मन्त्री जमकट्टेलले बिगतको राजनीति अवस्थाको कारण भएको तीता–मीठा सम्बन्धलाई अब जोड्न नहुने बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पत्रकारहरुलाई संवेदनशील क्षेत्रमा रिपोर्टिङ गर्न जाँदा प्रशासनलाई जानकारी गराएर जान अनुरोध गरे । त्यस्तै, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेरबहादुर बस्नेतले पत्रकार लगायत आम नागरिकको सुरक्षाको सवालमा आफू सँधै सकारात्मक रहेको दाबी गरे । त्यसैगरी पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्टले गैरराज्य र राज्यको दोषीमा भएका घटनाको प्रष्टता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा सन्चारिका समूहकी ३ नम्बर प्रदेश अध्यक्ष सरिता दाहालले महिला पत्रकारहरुको सुरक्षा सवाल झनै कमजोर रहेको बताइन् । महिला पत्रकारलाई यौनजन्य कुरा जोडेर हतोत्साहित पार्ने, राजनीति संरक्षणको कारण अपराध लुक्ने लगायत कारणले महिला पत्रकारले पेशा परिवर्तन गर्न बाध्य भएको अध्यक्ष दाहालले बताइन् ।
समाचार लेखेकै कारण पत्रकार त्रसित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उच्च अदालत पाटन हेटौंडा इजलासका अधिवक्ता रमेश भट्टराईले जोड दिए । पत्रकारहरुको सुरक्षाका साथसाथै राज्यबाट प्रदान गरिने सेवा सुविधा जस्ता सवाललाई महत्वका साथ उठाउनु पर्ने आवाज कार्यक्रममा सहभागी पत्रकारले उठाए ।
हरेक वर्ष नोभेम्बर २ तारिखका दिन विश्वभर मनाइँदै आएको पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमले कार्यक्रमको गरेको हो । “पत्रकार सुरक्षा र दण्डहीनता” विषयमा सरकार र सम्बद्ध जिम्मेवार निकायका पदाधिकारीहरुको प्रतिवद्धता प्राप्त गर्ने उद्देश्यले फ्रिडम फोरमले नोभेम्बर महिनाभर यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।