हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भीमफेदी–कुलेखानी सुरुङमार्ग छिट्टै निर्माण प्रकृयामा जाने बताएका छन् । ३ नम्बर प्रदेशको नीति तथा योजना आयोगले गरेको विज्ञहरुसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदीबाट कुलेखानीसम्म सुरुङमार्ग निर्माण गर्न प्रदेश सरकार दृढ रहेको बताएका हुन् ।
भीमफेदी–कुलेखानीको यात्रा १६ किलोमिटर जोखिमयुक्त रहेकोले साढे ३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिने उनले जानकारी दिए । मकवानपुरको चुरियामाइमा १ सय २ वर्षअघि नै ४ सय मिटर सुरुङ बनेको जानकारी दिँदै उनले हालसम्म किन नेपालमा सुरुङ मार्ग बन्न सकेन भन्दै प्रश्न गरे । उनले भने– ‘त्यतिबेला अमलेखगञ्जबाट भीमफेदी आउने गाडी त्यही सुरुङमार्ग भएर आउने गरेका थिए ।’ ‘नेपाली इन्जिनियरले त्यतिबेला बनाएको सुरुङ अहिले पनि जस्ताको तस्तै रहेको भन्दै उनले ’त्यसपछि खोई त नेपालमा सुरुङमार्ग?’ भन्दै प्रश्न गरे ।
भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गरी सडकलाई फराकिलो गर्न सके २ सय २७ किलोमिटर लामो बाटो ५१ किलोमिटरमा झार्न सकिने भन्दै पेट्रोलियम पदार्थको खर्च कम गर्न सकिने धारणा व्यक्त गरे । सुरुङमार्ग बनाएर बाँकी बाटो फराकिलो पारिने मुख्यमन्त्री पौडेलको भनाई थियो ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको पहिलो प्राथमिकता एकीकृत बस्ती विकास कार्यक्रम रहेको जानकारी दिएका छन् । एकीकृत बस्ती विना गरिने विकास दीगो हुन नसक्ने भन्दै यसको विषयमा सरकार गम्भीर रहेको उनले बताए । सरकारले लक्ष्यअनुसार काम गर्न निरन्तर लागिरहेको उनको दावी छ ।
मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वयको अभाव हुँदा योजनामा डुप्लिकेशन भएको भन्दै तालमेल गरेर योजना बनाउनुपर्नेमा जोड दिए । विभिन्न समस्याका बाबजुद प्रदेश सरकारले गर्न सकिने र दीर्घकालीन योजना अघि बढाउन चाहेको उनको भनाई थियो । प्रदेश सरकारले हेटौंडामा विमानस्थल निर्माण गर्ने र त्यसको तयारी अघि बढिसकेको पनि मुख्यमन्त्री पौडेलले जानकारी दिए ।