हेटौंडा,२० कात्तिकः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यमा बनाउन लागिएको शान्ति बाटिका सामुसदायिक वनमा बनाउन सुझाव दिएका छन् ।
आज हेटौंडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको स्थानीय तहसँगको साझेदारिमा संचालन हुने कार्यक्रमको प्रस्तावित कार्यबिधीमा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन् ।
जग्गा छैन भन्ने गुनासोलाई सम्वोधन गर्ने क्रममा मुख्यमन्त्री पौडेलले शहीदहरुको सम्मानमा बन्न लागेको शान्ति बाटिका बनाउन जमिनको कारण रोकिनु नपर्ने बताए । बाटिकाले ऐतिहासिक महत्व बोक्ने भएकोले यसको भावना बमोजिम दिर्घकालीन संरचना निर्माण गर्न सबै स्थानीय निकायलाई मुख्यमन्त्री पौडेलले निर्देशन दिए । जग्गाको मामिलामा प्रदेश सरकार आफै पीडित भएको भन्दै उनले स्थानीय निकायलाई रुख नभएको र प्रयोगबिहीन रहेको जमिनको प्रयोग गर्न सल्लाह दिए । संरचना निर्माणमा गुणस्तर कायम गर्न पनि मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहलाई आफ्नो भवन निर्माण गरेर मात्र त्यसमा ईजलाशको स्थायी संरचना निर्माण गर्नुपर्ने बताए । उनले प्रदेश सरकारले न्यायिक समितिको लागि ईजलाश गर्ने हलमा आवश्यक संरचना बनाउनको लागि आफ्ना भवन बनाइसकेका स्थानीय तहको अनुशरण गर्दै आफ्नो भवन निर्माणमा जुट्नुपर्ने धारणा राखे । सरकारको लगानी स्थायी संरचना निर्माणको लागि भएकोले पहिला आफ्नो संरचना स्थायी बनाउनुपर्नेमा मन्त्री जमकट्टेलले जोड दिए । उनले गाउँ–गाँऊमा बेपत्ता परिवार र परिवर्तनको लागि ज्यान गुमाउने शहीदहरु भएकोले उनीहरुको सम्मानमा प्रदेश सरकारले शान्ति बाटिका निर्माण गर्न लागेको भन्दै यस बाटिका मार्फत आन्तरिक पर्यटन प्रबद्र्धन गर्नेतर्फ सरकारको लक्ष्य रहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा ईजलाश निर्माण सम्बन्धी कार्यबिधी, शान्ति बाटिका निर्माण कार्यबिधी र स्थानीय तहसँग सुरक्षा व्यबस्थापन साझेदारी कार्यबिधी सम्बन्धी छलफल भएको थियो । मन्त्री जमकट्टेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।