बैठकको निर्णयबारे जानकारी गराउँदै प्रचारप्रसार समितिका संयोजक सिग्देल

हेटौंडाः हेटौंडाको पर्यटकीय गन्तव्यको पहिचान बनाएको शहीद स्मारक विकास समितिमा विभिन्न उपसमिति निर्माण गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।

गत कार्तिक १६ गते सम्पन्न समितिको १३औं साधारणसभाबाट निर्वाचितहरुको आज बसेको बैठकले उपसमिति निर्माण गरी उपसमितिहरुको नेतृत्वबारे गरेको निर्णय आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । समितिले पर्यटन प्रबद्र्धनमा जोड दिने पनि निर्णय गरेको छ ।

भ्रमण बर्ष २०२० मा योगदान दिने उद्देश्यका साथ आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनका लागि अनन्त पौडेलको संयोजकत्वमा भ्रमण बर्ष २०२० प्रबद्र्धन समिति गठन गरेको हो । समिति मार्फत शहीद स्मारक सम्बन्धी विभिन्न जानकारी मूलक प्रचारप्रसार गर्दै बाह्य तथा आन्तरिक पर्यटनलाई बढावा दिइने संयोजक पौडेलले जानकारी गराएका छन् ।

बैठकले रजत जयन्ती समारोह समितिको संयोजकमा रामेश्वर राना, भौतिक पूर्वाधार निर्माण समितिको संयोजकमा बद्रि लम्साल, प्रचारप्रसार समितिको संयोजकमा नविन सिग्देल, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र व्यवस्थापन समितिको संयोजकमा सम्राट तुम्बाहाङ्फे र वातावरण तथा सरसफाई समितिको संयोजकमा अक्कल बहादुर रोक्का क्षेत्री रहने निर्णय गरेको छ ।

वर्षेनी करिब ४ लाख आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको स्मारक समितिको दावी छ । शहीद स्मारकसँग जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक क्षेत्रलाई जोड्न सकेमा समग्र जिल्लाले फाईदा लिन सक्ने दावी समितिको छ ।

प्रचारप्रसार समितिका संयोजक सिग्देलको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । कार्यक्रममा भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति संयोजक अनन्त पौडेल र रजत जयन्ती समारोह समितिको संयोजकमा रामेश्वर रानाले मन्तव्य दिएका थिए ।