हेटौंडा,९ कात्तिकः ३ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले नेपाल खेलकूदको क्षेत्रमा स्वर्ण युगमा प्रवेश गरेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा सञ्चालित प्रथम राष्ट्रिय माझी गोल्डकप फूटबल प्रतियोगिताको आज शनिबार भएको समापन समारोहमा मन्तव्य दिँदै मन्त्री दुलालले यस्तो बताएका हुन् ।
विभिन्न क्षेत्रमा छरिएर रहेका खेलाडीहरुले विगतमा अवसर नपाएको र खेलको विकास हुँदै गर्दा दुर दराजका बस्तीमा रहेका प्रतिभाहरुले पनि बाहिर आउने मौका पाएको उनले बताए । तीन तहको सरकार क्रियाशील भएसँगै विभिन्न क्षेत्रमा रहेका खेलाडीहरुले अवसर पाएको भन्दै उनले खेलकूदको क्षेत्रमा नयाँ युगको सुरुवात भएको उद्घोष गरे । “कुना कुनामा रहेका प्रतिभाहरुलाई समेट्ने गरी सबैतिर अब यस्ता गोल्डकप जस्ता महत्वपूर्ण कार्यक्रम हुनु खुशीको कुरा हो”, मन्त्री दुलालले भने ।
कार्यक्रमको प्रमुख अतिथि रहेका मन्त्री दुलालले “खेलको क्षेत्रमा पहिला अवसर निकै कम थियो र सिमित व्यक्तिहरुलाई मात्र अवसर थियो ।” भने । स्थानीय, प्रदेश र राष्ट्रिय तहमा खेलकूद प्रतियोगिताहरु हुँदै गर्दा खेलाडीहरुको विकासका साथै खेलकूदबाटै पहिचान र व्यवसायिक खेलाडी उत्पादनमा हौसला मिल्न पुगेको उनले बताए ।
प्रदेश सरकार खेलकूद विकासको क्षेत्रमा अघि बढेको भन्दै उनले प्रदेशमा खेलकूद परिषद् स्थापना गरी यस प्रदेशमा योजनाबद्ध रुपमा अघि बढेको जानकारी दिए । नेपालको शान विश्वस्तरमा उच्च राख्ने हिसाबले पनि खेलकूदमा प्रदेश सरकारले १ अर्ब बराबरको लगानी गरेको उनले बताए । प्रदेशका ६६ वटा स्थानीय तहमा कभर्डहल निर्माण गर्न लागिएको, ११९ वटै स्थानीय तहमा स्थानीय स्तरको रंगशाला बनाउन सहयोग गरिने र मकवानपुरको गौरीटारमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान निर्माण गर्ने गरी काम अघि बढाइएको जानकारी दिँदै मन्त्री दुलालले यसलाई खेलकूदको क्षेत्रमा स्वर्ण युगको संकेत गरेका हुन् ।
“खेल मैदान, कभर्डहलहरु, स्थानीय स्तरको रंगशाला र अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान निर्माण गर्नुका साथै प्रथम प्रादेशिक खेलकूद कार्यक्रम आयोजना गर्ने योजनामा प्रदेश सरकार रहेकोले मैले यसलाई स्वर्णयुगमा प्रवेश गरेको भनेको हुँ”, मन्त्री दुलालले भने । खेलेर समाज, परिवार, राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा पहिचान दिनुका साथै व्यवसायिक हिसाबले पनि खेल्नको विकास हुँदै गएको मन्त्री दुलालको भनाई छ ।
स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद, माझी युवा सशक्तिकरण र पहिचानका लागि खेलकुद भन्ने नाराका साथ नेपाल माझी उत्थान संघ, मकवानपुरले प्रथम राष्ट्रिय माझी गोल्डकपको फूटबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका थिए । आज भएको फाइनल खेलमा सहभागीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आशिष माझीको सभाध्यक्षतामा सञ्चालन भएको समापन समारोहमा ३ नं. प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्यहरु बुद्धिमान माझी, प्रेमबहादुर पुलामी (छिन्तु), रिता माझी, पूर्व सभासद् तुलाबहादुर माझी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह, जातीय संघ संगठन, नीजि क्षेत्र तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भएका थिए ।