हेटौंडा,८ कात्तिकः हेटौंडा उपमहानगरपालिका २ वर्षभित्र बाल बिबाहमुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको छ । बाल विवाह उन्मुलन सम्बन्धी रणनीति–२०७६ ल्याउँदै गरेको हेटौंडा उपमहानगरपालिकाले आगामी २ वर्षभित्र अर्थात् २०७८ भित्र उपमहानगर क्षेत्रलाई बाल विवाहमुक्त घोषणा गर्ने लक्ष्य लिएको उपमहानगरपालिकाकी उपमेयर मिना लामाले बताइन् ।
“ऐन अनुसार कार्यविधि बनाएर अघि बढ्नुपर्ने बाध्यता हामीलाई थियो, प्रदेश सरकारको लक्ष्यलाई पूरा गर्ने गरी हामीले सबै सरोकारवालाहरुको सहभागितामा रणनीति तयार पारेका छौं” उपमेयर लामाले भनिन् । उनका अनुसार आज शुक्रबार बस्ने बैठकले सो रणनीति पारित गर्नेछ । हिजो गैर सरकारी संस्था तथा सरोकारवालाहरुसँग छलफल गर्दै उपमेयर लामाले बाल विवाह उन्मुलन सम्बन्धी रणनीति–२०७६ का सम्बन्धमा स्पष्ट पारेकी थिइन् ।
बैठकमा हेटौंडा उपमहानगरपालिकाका महिला विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले कार्यविधिका सम्बन्धमा सहभागीहरुलाई स्पष्ट पारिन् । सरोकारवाला निकायहरुको सल्लाह तथा सहभागितामा तयार पारिएको रणनीतिमा बाल विवाह न्यूनीकरण तथा उन्मुलनका लागि स्थानीय सरकारले सम्बन्धित क्षेत्रमा कार्यरत सबै संघ, संस्था, नीजि क्षेत्र, समूह, विद्यालय, सहकारी, सञ्चार क्षेत्र लगायतलाई आवश्यकता अनुसार परिचालन र सामाजिक अभियान सञ्चालन गर्ने उल्लेख छ ।
लैंगिक शिक्षा, खेल, विद्यालयको स्थानीय पाठ्यक्रममा आवश्यक विषयको समावेश, विद्यालय पठनपाठनमा नियमितता र निरन्तरताका लागि विद्यार्थीलाई थप सुविधा प्रदान जस्ता माध्यमबाट बाल विवाह उन्मुलन गर्ने रणनीतिमा उल्लेख छ ।
प्रस्तुत रणनीति अनुसार बाल विवाह सम्बन्धी सूचना दिनेलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने, सूचना दिनेको पहिचान गोप्य राखिने, बाल विवाह गर्ने– गराउनेलाई प्रशासन, प्रहरी र बाल हेल्पलाईनको सहयोगमा रोक्ने उल्लेख गरिएको छ । रणनीति पास भएको ३ महिनाभित्र लागु हुनेछ ।
उपमहानगर क्षेत्रमा बाल विवाहका घटना धेरै हुने गरेको वर्तमान अवस्थामा हेटौंडाका लागि यो अवसर र चुनौती दुबै हो । रणनीति लागु भएपछि बाल विवाह उन्मुलनका लागि उपमहानगरपालिका एक्सनमा जाने उपमेयर लामाले बताइन् । प्रदेश सरकारले पनि २०७८ भित्र प्रदेशलाई बाल विवाहमुक्त घोषणा गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम तय गरी अघि बढेको छ ।