हेटौंडा,८ कात्तिकः मकवानपुरको बकैया गाउँपालिका जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकपको फाइनलमा सिन्धुली र रामेछाप भिड्ने भएका छन् । आज भएको सेमिफाइनल खेलहरुमा आफ्ना प्रतिस्पर्धी टिमलाई पराजित गर्दै भोली शनिबार दिउँसो हुने फाइनल खेलमा सिन्धुली र रामेछापको भिड्ने निश्चित भएको प्रथम राष्ट्रिय माझी गोल्डकपका खेल संयोजक श्यामसुन्दर माझीले जानकारी दिए ।

आज भएको पहिलो खेलमा ‘मकवानपुर बकैया नीलो’लाई २–० गोल अन्तरले पराजित गर्दै रामेछाप फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, आजको दोस्रो खेलमा सुनसरीलाई ३–१ गोल अन्तरले पराजित गर्दै सन्धुलीले फाइनलमा रामेछापसँग भिड्ने निश्चित गरेको हो ।

‘मकवानपुर बकैया नीलो’ सँगको प्रतिस्पर्धामा रामेछापका लागि जर्सी नं. १२ का मनोज माझीले खेलको ३४औं मिनेटमा र जर्सी नं. १० का नवीन माझीले दोस्रो हाफको २ मिनेटमा गोल गरेका थिए । यता, मकवानपुरको तर्फबाट कुनैपनि गोल हुन नसकेपछि रामेछापसँगको खेल २–० को गोल अन्तरमा सकिएको थियो । उक्त खेलमा ‘मकवानपुर बकैया नीलो’का विवेक माझी म्यान अफ द म्याच भए ।

सुनसरी र सिन्धुलीबीच भएको आजको दोस्रो खेलमा सिन्धुलीका लागि जर्सी नं. १२ का राजकुमार माझीले ह्याट्रीक गरेका थिए । सिन्धुलीका राजकुमारले खेलको ८, १०औं र दोस्रो हाफको ३०औं मिनेटमा लगातार ३ गोल गरेपछि सिन्धुलीले आफ्नो फाइनल यात्रा तय गरेको हो ।

उता सुनसरीका लागि जर्सी नं. ५ का गंगाराम माझीले खेलको २६औं मिनेटमा १ गोल गरी टिमलाई ३–१ को अन्तरमा पुर्याउन योगदान दिए । यस खेलमा ह्याट्रीक गर्न सफल सिन्धुलीका राजकुमार माझी म्यान अफ द म्याच हुन भए । राजकुमार प्रथम राष्ट्रिय माझी गोल्डकपमा ह्याट्रीक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि रामेछापका मनोज माझी र सुनसरीका देवकुमार माझीले ह्याट्रीक गरेका थिए ।

जातीय पहिचानका लागि खेलकुद भन्ने नाराका साथ माझी जातीका खेलाडीहरुलाई सहभागी गराई माझी उत्थान संघ, मकवानपुरले प्रथम राष्ट्रिय माझी गोल्डकपको आयोजना गरेको हो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् । ३ नं. प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको प्रमुख आतिथ्यमा भोली शनिबार दिउँसो १ बजे फाइनल खेल हुने बताइएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि स्थानीय सरकार, विभिन्न व्यक्ति तथा संघ, संस्थाले आर्थिक सहयोग गरेको प्रथम राष्ट्रिय माझी गोल्डकपका आर्थिक समिति संयोजक लक्ष्मी माझीले जानकारी गराइन् ।