हेटौंडा,४ कात्तिकः मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकपमा अन्तर्गत आजको खेलमा रामेछापका मनोज माझीले ह्याट्रीक गरेका छन् । यो सँगै यस प्रतियोगितामा ह्याट्रीक गर्ने उनी दोस्रो खेलाडी बनेका छन् । यसअघि धादिङ बिरुद्ध खेलेका सुनसरीका देवकुमार माझीले ह्याट्रीक गरेका थिए ।
आज भएको दोस्रो खेलमा ओखलढुंगाको बिरुद्ध खेलेको रामेछापका लागि जर्सी नं. १२ का मनोज माझीले सेकेन्ड हाफको १, १२ र ५९औं मिनेटमा गोल गर्दै ह्याट्रीक गरेका रेफ्री सन्तोष राईले जानकारी दिए । यससँगै उनी सो खेलको म्यान अफ द म्याच बन्न सफल भए । त्यसैगरी रामेछापकै लागि जर्सी नं. १७ का श्याम माझीले खेलको सेकेन्ड हाफको ४औं मिनेटमा गोल गरेका थिए । यता ओखलढुंगाका तर्फबाट जर्सी नं. १३ का साजन कुमार माझीले खेलको ४८ मिनेटमा गोल गर्दै टिमलाई ४–१ को अन्तरमा लान सफल भए ।
आज भएको पहिलो खेलमा सिन्धुली ४ गोल गर्दै बागमती गाउँपालिका टिमसँग विजयी बन्न सफल भयो । खेल अवधिमा दुबै टिमले गोल गर्न नसकेपछि सिन्धुलीले ट्राइब्रेकरमा ४ गोल गर्दै बागमतीलाई पराजित गरेको हो । बागमती गाउँपालिकाको तर्फबाट जर्सी नं. १५ का बिनोद माझी, जर्सी नं. १७ का नवराज माझी र जर्सी नं. ७ का अमित माझीले गोल गरेका थिए ।
उता, सिन्धुलीको तर्फबाट जर्सी नं. ३ का दिपेन्द्र माझी, जर्सी नं. ४ का प्रकाश माझी (क्याप्टेन), जर्सी नं. १४ का तिलक माझी र जर्सी नं. ८ का नारायण माझीले गोल गर्दै टिमलाई ४–३ को गोल अन्तरमा विजयी बनाए । सो खेलमा सिन्धुलीका किपर सुमन माझी म्यान अफ द म्याच बन्न सफल भएको रेफ्री राईले बताए ।
प्रतियोगिता अन्तर्गत भोली मंगलबार सिन्धुपाल्चोक र सर्लाहीबीच पहिलो खेल हुनेछ । त्यस्तै दोस्रो खेल मकवानपुर रातो र सुनसरीका बीच हुनेछ । माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् ।
कात्तिक ९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।