हेटौंडा,४ कात्तिकः रमनटार युवा क्लबको आयोजनामा पश्चिम मकवानपुरको मनहरी–७, रमनटारमा आज सोमबारदेखि क्षेत्रीयस्तरको दास्रो मनहरी रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । ३ नम्बर प्रदेशका सांसद ओम ग्लान (प्रदिप वालाचन)ले प्रतियोगिताको उद्घाटन गरेका मनहरीबाट जयराम मोक्तानले जानकारी दिएका हुन् ।

कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि ग्लानले स्थानीय स्तरमा यस्ता खालका खेलकुद कार्यक्रमहरु निरन्तर भएमा स्थानीय स्तरका खेलाडीहरु उत्पादानमा सहयोग पुग्ने बताएका छन् । कार्यक्रममा मन्तव्य दिँदै मनहरी गाउँपलिकाका अध्यक्ष एकराज उप्रेतीले आफुहरुले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतियोगिताको उद्घाटनका क्रममा मन्तव्य दिँदै गाउँपालिका अध्यक्ष उप्रेती तथा कार्यक्रमका अतिथिहरु ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति मनहरी क्षेत्रका अध्यक्ष पदम बहादुर तितुङ, मनहरी गाउँपालिका–७, का अध्यक्ष ठाकुर तितुङ, रमनटार डिपार्ड बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमेश मुक्तान, ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख श्रीशंकर श्रेष्ठ, पशुपति सामुदायिक वन उपभाोक्त समुहका अध्यक्ष रघु रुम्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगद, शिल्ड, मेडल तथा उपविजेताले १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुने टिमले १० हजार रुपैयाँ नगद र सान्त्वना हुने टिमले ५ हजार रुपैयाँ नगद, शिल्ड प्रमाण पत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आज भएको प्रतियोगिताको उद्घाटन खेलमा ‘रमनटार बि’ ले विजय यात्रा सुरुवात गरेको छ । ‘रमनटार बि’ ले ‘नामटार ए’ लाई पराजित गरेको गरेको थियो । मंगलबार ‘रमनटार ए’ र ‘रमनटार डि’, ‘कैलास- ८’ र ‘रमनटार सि’, ‘कैलास- १’ र ‘नामटार बि’ तथा ‘नामटार ए’ र ‘रमनटार सि’ बीच खेल हुने आयोजकले जानकारी दिएको छ ।