हेटौंडा,३ कात्तिकः मकवानपुरको वकैया गाउँपालिकाको जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकपमा अन्तर्गत आजको खेलमा स्याङ्जाबिरुद्ध खोटाङले शानदार जीत हासिल गरेको छ । आज भएको दोस्रो खेलमा खोटाङले स्याङ्जालाई ४ गोल गर्दै जीत हात पारेको रेफ्री सन्तोष राईले जानकारी दिएका छन् ।
खोटाङका लागि जर्सी नं. १५ का बिक्रम माझीले खेलको ५ औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए । त्यसपछि जर्सी नं. ८ का निरोज माझीले खेलको १०औं मिनेटमा, जर्सी नं. ७ का साजन माझीले १३ मिनेटमा र जर्सी नं. १० का दिनेश माझीले ३०औं मिनेटमा गोल गर्दै टिमलाई शानदार जीत दिलाएका हुन् । यससँगै खोटाङ टिमका जर्सी नं. १० बाट खेलेका दिनेश माझी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा रौतहट बिरुद्ध धनुषाले जीत हात पारेको छ ।
रौतहटको १ गोलका बिरुद्ध २ गोल गर्दै धनुषा विजयी बनेको हो । धनुषाको तर्फबाट जर्सी नं. १० का प्रविण माझीले खेलको ४४औं मिनेटमा र ६५औं मिनेटामा २ गोल गर्न सफल भए । खेलमा रौतहटको तर्फबाट जर्सी नं. १० का सुरेश माझीले खेलको ५९औं मिनेटमा १ गोल गरी टिमलाई योगदान दिए । साथै सुरेश माझी म्यान अफ द म्याच बन्न सफल भए ।
माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् । कात्तिक ९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।