हेटौंडाः सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना अटो चलाएका हेटौंडाका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सवारी व्यवस्थापनमा जुटिरहेको ट्राफिक प्रहरीले लाइसेन्स विना नै अटो चलाउँदै आएका उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, मकवानपुर परिसरमा लगेको हो ।
आज आइतबार दिउँसो यसबारे जानकारी गराउँदै मकवानपुरका ट्रफिक प्रहरी प्रमुख हरिविष्णु ढकालले अव्यवस्थित र नियम विपरित चलिरहेका अटोका कारण सडकमा सवारी व्यवस्थापनमा कठिनाई भइरहेको जानकारी दिए ।
स्थानीय तहलाई मात्र यस्ता सवारी नियन्त्रणको अधिकार भएको भन्दै उनले सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए । स्थानीय तहले यसतर्फ ध्यान दिए ट्रफिक प्रहरी तयार रहेको भन्दै अन्यथा जरिवाना काटेर उनीहरुलाई छाड्नुको बिकल्प नरहेको ट्रफिक प्रहरी प्रमुख ढकालले बताए ।
हेटौंडा बजारमा करिब २५ सयदेखि ३ हजारको हाराहारीमा अटो तथा विद्युतीय रिक्सा सञ्चालनमा छन्, भने अत्यन्त कम चालकसँग मात्रै लाइसेन्स रहेको अनुमान गरिएको छ ।