हेटौंडा,२९ असोजः ३ नम्बर प्रदेश सरकारले मकवानपुरको मनहरीमा दुई अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । निजी क्षेत्रसँग समेत सहकार्य गरेर स्थापना गरिने उद्योगका लागि डिपीआरको काम अगाडी बढाइएको जनाइएको छ ।
मनहरीमा कागज उद्योग स्थापनाको लागि तयारी गरिएको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए । उद्योग स्थापनालाई बहुवर्षिय योजनामा राखेर काम गर्ने तयारी गरिएको उनको भनाई छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा कागज उद्योगको डीपीआरका लागि ५० लाख रुपैयाँ छुट्याएको छ ।
निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने “मोडालिटी” बनाएको बताए ।
प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव हुन नदिने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको र अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उनले बताए ।
कहाँ कागज उद्योग बनाउने भन्ने टुङ्गो भए सरकारी जमिनको अभाव हुन नदिने बताउँदै उनले यस्तै खालका सरकारी संरचना मनहरीमा निर्माण गर्ने भनेर मनहरी गाउँपालिका क्षेत्रमा अतिक्रमण भएका जग्गा जमिनको खोजी गरेर भएका अतिक्रमण हटाउँदै गरेको जानकारी दिए । अतिक्रमण हटाउनका लागि उपाध्यक्ष मनिला विष्टको संयोजकत्वमा समिति बनाएर काम सुरु गर्न लागेको अध्यक्ष उप्रेतीको भनाई छ ।