हेटौंडा,१७ असोजः मनहरी बजारको घर तथा पसलबाट निस्किने फोहरको व्यवस्थापन मनहरी खानेपानी तथा सरसफाई समितिले गर्ने भएको छ ।

मनहरीमा आज एक कार्यक्रमको आयोजना गाउँपालिका तथा मनहरी खानेपानी तथा सरसफाई समितिबीच सम्झौता भएको मनहरीबाट जयराम मोक्तानले जनाएका छन् ।

फोहोर संकलन कार्य भने कार्तिक १ गतेदेखि सुरु हुने भएको छ । मनहरी खानेपानी तथा सरसफाई समितिबीच सम्झौता हुन पूर्व मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले मनहरी बजारमा रहेको विभिन्न व्यवसाय स्थल तथा घरबाट निस्कने फोहोर संकलन र व्यवस्थापन गर्दै आइरहेको थियो । मनहरी खानेपानी तथा सरसफाई समितिले फोहोर संकलन तथा व्यवस्थानप गर्ने भएसँगै फोहोर उठाए वापत मासिक रुपमा तिर्नु पर्ने मासिक शुल्क पनि तोकिएको छ ।

अब तरकारी थोक बिक्रेताले मासिक रुपमा एक हजार, लत्ता कपडा तथा किराना पसल सञ्चालकहरुले १ सय रुपैयाँ, सरकारी कार्यालय बाहेकका विभिन्न संघ संस्थाहरुले १ सय रुपैयाँ, ठेलागाडामा पसल सञ्चालन गर्नेहरुले २ सय तथा सामान्य घरवालाले मासिक ५० रुपैयाँ तिर्नु पर्नेछ ।