हेटौंडा,१७ असोजः नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा मनहरी गाउँपालिकाले आज शुभकामना आदनप्रदान तथा चियापन कार्यक्रम गरेको छ ।

मनहरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्यक्षता तथा संविधानसभाका सदस्य राजाराम स्याङ्तनको प्रमुख आतिथ्यता रहेको मनहरीबाट जयराम मोक्तानले जनाएका छन् । कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य स्याङ्तानले लोकतन्त्रबाट प्राप्त धर्म निरपेक्षले गर्दा सबै जातजाति तथा भाषाभाषीहरुले दशैंलाई महत्वका साथ मनाइरहेको बताए । दशै साँस्कृतिक पर्व भएकाले संस्कृतिलाई अगिंकार गर्ने हिसावले मात्र चाडलाई मनाउनु पर्ने उनले बताए ।

दशैंमा ऋण गरेर समाजमा देखाउनका लागि मात्र भए पनि आफ्नो हैसियतलाई बिर्सेर खर्च नगर्न सम्पुर्ण गाउँपालिका बासीलाई स्याङतानले आग्रह गरे । त्यसैगरी गाउँपालिका अध्यक्ष उप्रेतीले चाड पर्वको नाउँमा मादक पदार्थ सेवन गरी समाजलाई असर हुने खालको क्रियाकलाप नगर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा मनहरी गाउँ कमिटीका अध्यक्ष रामप्रसाद कालाखेती, ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी प्रमुख श्रीशंकर श्रेष्ठ, सशस्त्र प्रहरी पोष्ट लच्काका मुकुन्द कार्की, समाजसेवी रामहरी सुबेदी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबराज चौलागाईंले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।