सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहार गरेको आरोप लागाउने रोशनी शाही र उनका श्रीमान चित्रजंग शाहीको सम्बन्धविच्छेद भएको छ ।
रोशनीका श्रीमानले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘हामी २८ वर्षसम्म सँगसँगै बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । शुभेच्छुकहरुमा धन्यवाद ।’ सामाजिक सञ्जालमा पति चित्रजंगले रोशनीसँग भएको सहमतिको कागजसमेत पोष्ट गरेका छन् ।
सहमतिपत्रमा लेखिएको छ, ‘प्रिय जनहरु, थुप्रै उतारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति, असन्तुष्टि आउँदो रहेछ । तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानूनी प्रक्रियाको निरन्तरताका साथ ।’
रोशनी र महराको सम्बन्ध सार्वजनिक भएलगत्तै उनका श्रीमानले कुनै प्रतिक्रिया दिएका छैनन् । तनहुँबाट फर्केलगत्तै आफन्तसँगको सल्लाहमा शाहीले पत्नीलाई डिभोर्सको प्रस्ताव गरेका थिए । उनीहरुबीच डिभोर्स गर्ने समझदारी भए पनि कानूनी प्रक्रिया भने पूरा भइसकेको छैन ।
रोशनीका पति चित्रजंग शाही स्वास्थ्यका कर्मचारी हुन् । उनी अत्यन्तै इमान्दार, मृदुभाषी कर्मचारी मानिन्छन् । महरा–रोशनी प्रकरण सतहमा आएपछि उनीहरु अलग बस्ने निर्णयमा पुगेका हुन् ।