हेटौंडा,१६ असोजः मुलुकको व्यवस्था परिवर्तनका खातिर भएका आन्दोलनका क्रममा चार छोरा गुमाएकी हेटौंडा उपमहानगरपालिका–९ की सुभद्रा दर्नालको घरमा दशैंका सामान बोकेर मेयर महत पुगेका छन् ।
दर्नालले मुलुकमा दुई खालका आन्दोलनका क्रममा आफ्ना चार जना छोरा गुमाएकी थिइन् । घरमा बिहान बेलुकाको छाक टार्न पनि धौ धौ । त्यसमाथि चार छोरा गुमाउँदाको पीडा अनि उनको बिरामीले थलीएको बृद्ध शरीर ।
आज एक्कासी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत दशैका लागि सामान बोकेर घरमा पुग्दा उनका आँखा रसाए । झुप्रो घरमा बस्दै आएकी दर्नालको घरमा मेयर महतले दुई बोरा चामल, दाल, तरकारी, आलु, प्याज, तेल, चिनी, नुन, मसलाहरु लगायत खाद्य सामग्री बोकेर मेयर महतले हस्तान्तरण गरे ।
दशैंमा लगाउनका लागि सुभद्रा र उनका नातिनीलाई कपडा, दशैं, तिहार मान्नका लागि नगद रकम समेत मेयर महतले हस्तान्तरण गरेका छन् । मुलुकको परिवर्तनका लागि छोरा गुमाएपनि बर्षौदेखि उनलाई धेरै खालका अभाव नै अभाव थियो । तर, स्थानीय सरकारले आफ्नै घरमा आएर सहयोग गरेकोमा उनले धन्यवाद व्यक्त गरिन् । मुलुकको दुई ठूला आन्दोलनका क्रममा आफ्नो चार भाइ छोरा गुमाउन पुगेकी मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ की ७० बर्षीया सुभद्रा दर्नाललाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको हो ।
उनी आफ्नी १८ बर्षीया नातिनी अस्मिसा दर्नालको साथमा सुकुम्वासी बस्तीमा बस्दै आएकी छन् । सुभद्रालाई मेयर महतले नगरपालिकाको बैठकबाट निर्णय गरी बस्ने घरको ब्यवस्था मिलाइने प्रतिबद्धता पनि जनाएका छन् । यिनै आमाहरु जस्ता छोराहरुकै बलिदानीमा आफूहरु स्थानीय सरकारको प्रमुख भएका कारण शहीद परिवारका बलिदानीको आफूहरुले उपेक्षा गर्न नसक्ने मेयर महतले बताएका छन् । उनले आमा सुभद्राको बस्ने, खाने सहित औषधी उपचारको समेत व्यवस्था आफूले गरिदिने र नातिनीका लागि जीविकोपार्जनका लागि पनि सहयोग गर्ने बताएका छन् ।
आफ्नो घरमा आजसम्म कोही नेता नआएको र मेयर आएर आफ्ना पीडा सुनिदिएको भन्दै सुभद्रा दर्नालले खुसी ब्यक्त गरिन् । उनको पति नेत्र दर्नालको पनि करिब दशक अगाडि मृत्यु भइसकेको छ । उनका पाँच छोराहरुमध्ये एउटा छोरा भने कालगतीका कारण मृत्यु भएको हो ।
जनपत्रबाट