हेटौंडाः जापानी राजदुतावासको सहयोगमा मकवानपुरको दुर्गम क्षेत्रमा रहेको राक्सीराङ गाउँपालिका–२ स्थित एक विद्यालयमा ६ कोठे भवन बन्ने भएको छ । भवन निर्माणका लागि दुतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको पहलमा दुतावासले सरिखेत कुंडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको शौचालय र बाथम सहितको ६ कोठे भवन बनाउन सहयोग गर्ने भएको हो ।
जापानी राजदुतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले आज मंगलबार जापानी दुतावासमा एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सरिखेत कुंडुलेमा रहेको ८ कक्षासम्म पठनपाठन हुने प्रजा प्रगति विद्यालयमा ८० प्रतिशत चेपाङ तथा प्रजाका बालबालिकाहरु अध्ययन गर्दै आएका दावी गरिएको छ । विद्यालय भवन आगामी २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले जापानी दुतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाईदिन लागेकोमा दुतावासलाई आभार प्रकट गरे । कार्यक्रममा बोल्दै राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले अवको दिनमा विकट राक्सीराङका पिछडिएका चेपाङ तथा प्रजाका बालबालिकाले ढुक्कसँग पठनपाठन गर्न पाउने भन्दै खुशी व्यक्त गरे ।