हेटौंडा,१४ असोजः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानिसमा निराशा जान नदिन मिडियाले भूमिका खेल्नुपर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकारहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सरकारको कामलाई गति दिन मिडियाको भूमिकाको अपेक्षा गरेका हुन् ।

मिडिया नकारात्मकताबाट गाइडेड रहेको भन्दै मुख्यमन्त्री पौडेलले उत्साहित गराउने किसिमको समाचार र सन्देशहरु प्रवाह गर्न मिडियाकर्मीलाई आग्रह गरे । नयाँ संरचना भएकोले केही ढिलाइ भएपनि अब प्रदेश सरकारको कामले गति लिइसकेको उनले दाबी गरे ।

‘बिहान उठेदेखि साँझ नसुतेसम्म नकारात्मक कुरा गरेर कसरी सकारात्मक सोच बन्छ?’ भन्ने प्रश्न गर्दै मुख्यमन्त्रीले सरकारका कामको जानकारी र सकारात्मक सन्देश दिएर अघि बढ्न मिडियाकर्मीहरुलाई आग्रह गरे । साथै उनले सरकारका सबै कुराको समर्थन गर्नुपर्छ भन्ने आफ्नो सोच नभएको पनि प्रष्ट पारे ।

राम्रा र केही सुधारात्मक पक्ष रहनेतर्फ लक्षित गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका राम्रा काम पनि जनतामाझ लैजान र जनतामा निराशा जान नदिन मिडियाले भूमिका खेल्नुपर्ने भन्दै कार्यक्रममा सहभागी सबैलाई दसैंको शुभकामना दिए ।