हेटौंडा,७ असोजः कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किँदा त्यहाँ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
कमला नदीको दुबैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएको थियो ।
नहर भत्किँदा तटबन्धमा १८ करोड बराबरको क्षति भएको हो । आयोजनाका प्रमुख मनोहर साहका अनुसार कमला नदीको पोर्ताहादेखि भारतीय सीमा तथा सिराहाको बन्दीपुरदेखि भारतीय सीमासम्मको ७५० मिटर तटबन्ध भत्किएको छ । प्राप्त विवरण अनुसार नदीको दुबैतर्फ ६८.२५ किलोमिटर तटबन्ध रहेको छ । जसमध्ये धनुषातर्फ ३३.६ किलोमिटर र सिराहातर्फ ३४.६५ किलोमिटर तटबन्ध रहेको बताइएको छ । जसमध्ये सिराहातर्फ ४०० मिटर र धनुषातर्फको ३५० मिटर तटबन्ध बाढीले भत्काएको र उक्त क्षतिग्रस्त बाँधको निर्माण गर्न पटक–पटक माग भएपनि बजेट नआएको प्रमुख साहको भनाई छ ।
बाँध निर्माण नहुँदा जिउधन र बालीनालीको व्यापक क्षति हुने प्रमुख साहले बताए । उक्त भत्किएको तटबन्ध समयमा नबनेमा त्यहाँ सिँचाईमा अभाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा नोक्सानी हुने धनुषा इनर्वाका बासिन्दाको गुनासो पाइएको छ । सो आयोजनाबाट भएको क्षतिको सम्बन्धमा क्षति कम गर्न सुझाव समेत सिँचाई मन्त्रालय र विभागमा पठाइएको छ । सुझावपत्रमा कमला नदीको उद्गमदेखि भारतीय सीमासम्म विभिन्न स्थानमा नदीमा निर्माण गरिएका पुलहरु पूर्वपश्चिम राजमार्ग ६४० मिटर, हुलाकी सडक ४५० मिटर र बिहारको जयनगरमा निर्माण भएको ३०० मिटर ब्यारेज प्राविधिक रुपले निर्माण नभएकोले नदीको वहाव अवरोध भई तटबन्ध भत्किएको र आसपासका ग्रामीण क्षेत्रमा क्षति भएको बताइएको छ ।
साथै नदीमा जथाभावी उत्खनन् र छिटो समयमा पानीको अत्याधिक वहावले क्षति भएको पनि सुझावपत्रमा उल्लेख छ । हाल सो आयोजनाद्वारा नदीमा पुल लगायतका संरचना निर्माण भइरहेको छ । आव २०६५/०६५ मा भारतीय अनुदान तथा नेपाल सरकारको सहयोगमा कमला नदी नियन्त्रणका लागि उक्त तटबन्धका साथै पूर्वाधारको निर्माण भएको हो ।
कमला नदीको दुबैतिर धनुषा र सिराहा जिल्लामा २५ हजार बिगाहा जमिनमा सो नदीबाट सिँचाई हुँदै आएको छ । धनुषामा १२ हजार ५ सय बिगाहा र सिराहामा १२ हजार ५ सय बिगाहा जमिनमा सिँचाई हुँदै आएको सो आयोजनाबाट थाहा भएको छ ।