हेटौंडा,५ असोजः मकवानपुरका गैरसरकारी संस्थाहरुबीच सिकाई आदानप्रदान गर्ने उद्देश्यका साथ आज हेटौंडामा प्रभावकारी अभ्यास तथा सिकाई आदानप्रदान गोष्ठी सञ्चालन भएको छ ।

हेटौंडास्थित गैर सरकारी संस्था महासंघको सभाहलमा भएको गोष्ठीमा मकवानपुर जिल्लामा रहेर काम गर्दै आएका ६ वटा गैर सरकारी संस्थाले प्रतिनिधिमूलक रुपमा आफ्नो संस्थामार्फत भएका गतिविधि, उपलब्धी, असल अभ्यास र सिकाईहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा माईती नेपालकी कार्यक्रम संयोजक माया लामा, डेक नेपालका मानबहादुर वाईबा, सृजनशील नेपालकी रिता ढुंगेल, फियान नेपालकी रेश्मी कार्की, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी फूलमाया लामा र ट्रान्स्परेन्सी इन्टरनेशनलकी प्रमिला थिङको प्रस्तुती रहेको थियो । प्रस्तुतकर्ताहरुले सम्बन्धित संस्थामार्फत सञ्चालन गरेका कार्यक्रम तथा गतिविधि, उपलब्धी, असल अभ्यास, चुनौती, सिकाई जस्ता विषयमा जानकारी गराएका थिए ।

एनजिओलाई लाञ्छना किन?: उपप्रमुख पुडासैनी
कार्यक्रममा मन्तव्य दिँदै जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीले गैर सरकारी संस्थाहरुलाई स्थानीय तहले सहयोग गर्नुपर्ने विचार व्यक्त गरिन् । सरकार पुग्न नसकेको ठाउँहरुमा समेत गैर सरकारी संस्थाहरु पुगेको र राम्रा कामहरु भएकोमा प्रशंसा गर्दै उनले स्थानीय सरकारले गैर सरकारी संस्थाका कार्यक्रमलाई आफ्नो तरिकाले सञ्चालन गर्न सक्ने बताइन् ।
“डलरको खेती गर्ने भन्दै एनजिओलाई किन लाञ्छना लगाईयो?” भन्दै उनले गैससकर्मीलाई स्थानीय सरकारले आफ्नोपन महसुस हुने गरी काम गर्नुपर्ने धारणा व्यक्त गरिन् । उपप्रमुख पुडासैनीले आफू गैससकर्मीहरुको कामबाट प्रभावित भएको भन्दै आवश्यक सहयोग गर्ने वचन दिइन् ।

नागरिक समाज मञ्च मकवानपुरकी अध्यक्ष रमिला सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा समाज कल्याण परिषद्का सहायक निर्देशक शुष्मा खड्का र गैर सरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल अतिथि रहेका थिए ।