हेटौंडा,३ असोजः बाल दिवसको सन्दर्भमा मकवानपुर जिल्लामा रहेका २१ जना एचआईभी संक्रमित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
जिल्लामा रहेका विद्यालय जाने उमेरका संक्रमित बालबालिकाहरुलाई हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा मकवानपुर महिला समूहको संयोजनमा ब्याग, कापी, ज्यामिति बक्स, कलम र डिक्स्नेरी वितरण गरिएको हो । साथै, इस्थर बेन्जामिनको सहयोगमा उनीहरुलाई सरसफाई सामग्री पनि वितरण गरिएको थियो ।
कार्यक्रम सहभागीहरुलाई सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाले बलियो आत्मवलका साथ अघि बढ्न बालबालिकाहरुमा आग्रह गरिन् । समस्या सबैमा हुन्छ, मनोबल बढाएर अघि बढ्नुपर्छ, उपमेयर लामाले भनिन् । बाहिर देख्दा जस्तो सामान्य कसैको जीवन नहुने र हरेकको जीवनमा व्यवहारिक समस्याहरु हुने उपमेयर लामाको भनाई थियो । उनले विभिन्न किसिमको रोग सबैलाई हुने र सबै समस्या सामान्य हो भनेर लिनुपर्ने उपमेयर लामाले बताइन् ।
कार्यक्रममा बोल्दै मकवानपुर महिला समूहकी अध्यक्ष कमला सुवेदीले संक्रमित बालबालिकालाई समाजले हेर्ने दृष्टिकोण अझै पनि सकारात्मक नभएका कारण उनीहरु खुल्न गाह्रो हुने बताइन् । बाल दिवसको अवसरमा खुल्ला स्थानमा सामग्री वितरण गर्न समस्या भएकोले आज सो कार्यक्रम राखिएको मकवानपुर महिला समूहकी कार्यक्रम संयोजक निशा लामाले बताइन् । कार्यक्रममा संस्थाका पदाधिकारी, संक्रमित बालबालिका र उनीहरुका अभिभावक सहभागी भएका थिए ।