मनहरीः पाँचौ सविधान दिवसको अवसरमा पश्चिमा मकवानपुरको मनहरीमा आज विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा मनहरी गाउँपाालिको अगुवाईमा मनहरी बजार तथा मनहरी प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरिएको मनहरीबाट जयराम मोक्तानले जानकारी गराएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल, उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती सहितको सरसफाई टोलीले मनहरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरी हातामा रहेको नाली, झाडी तथा फोहोरहरुलाई संकलन गरी सरसफाई गरेको हो ।
यस्तै, दिवसको अवसरमा मनहरी बजारमा रहेको अव्यस्थित ढललाई पनि सफाई गरिएको छ । सरसफाईको क्रममा सचेतनाको लागि डेंगु रोगबारे पर्चा पम्प्लेट स्थानीयहरुलाई वितरण गरिएको थियो । त्यसैगरी आज बिहिबार बिहानै संबिधान दिवसको अवसरमा मोटर साइकल र्याली पनि निकालिएको छ । मनहरी–६ लोथर, मनहरी बजार हुँदै गाउँपालिका केन्द्र रजैयासम्म र्यालि पुगी कोणसभा गरिएको थियो । सभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले हालको संबिधानलाई अक्षरस लागु गर्नुपर्ने बताएका छन् । संबिधान भन्दा माथि कोहि नहुने हुँदा सबैले संविधानको पालना गर्नुपर्ने अध्यक्ष उप्रेतीले बताए ।
दिवसकै अवसरमा मनहरी–९ रजैयामा मनहरी बाल सञ्जालले नाटक समेत प्रस्तुत गरेको छ । साझा मनहरीको रजैयामा गाउँपाकिलाले दीप प्रज्वलन पनि गरेको छ । बिद्यालय लगायत विभिन्न संघ संस्थाले समेत दीप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् । भोली शुक्रबार मनहरी ३ लामिटारमा रहेको गाउँसभा भवनमा गाउँपालिकको वार्षिक समीक्षा बैठक तथा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको बताइएको छ ।