हेटौंडाः राष्ट्रिय बाल दिवसको अवसरमा “सुनिश्चित बाल अधिकार, समृद्ध नेपाल” भन्ने मुल नाराका साथ बालगृह स्तरीय बालबगैचा विषयमा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । सिविन नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका र बालगृह संजाल (सिनेट)को सहकार्यमा सम्पन्न प्रतियोगितामा ९ वटा बालगृहका १८ जना बालबालिकाकाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा आाशिषमय बालगृहकी माया थापा प्रथम, अन्तरदृष्टि नेपालकी लक्की राई द्वितीय, इस्थर बेन्जामिन स्मृतिको भावना कुमाल तेस्रो, इस्थर बेन्जामिन स्मृतिकी शिला गुरुङ र हाम्रो घर बालगृहका महेन्द्र महर्जन सान्त्वना भएका छन् । विजेता सबैलाई हेटौंडा उपमहानगरपालिकाको बालदिवसको मुल कार्यक्रममा पुस्कृत गरिएको बालहेल्पलाइनले जनाएको छ ।
त्यसैगरी बकैया गाउँपालिका, सिविन बालहेल्पलाइन तथा बुद्ध मावि हात्तीसुडेको संयुक्त आयोजनमा बकैया गापा मावि स्तरीय बालविवाह न्युनिकरणमा विधार्थीहरुको भुमिका विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा कान्ति मावि ठिंगनका गंगा डिम्डुङ् प्रथम, बाघ भैरव माविका सुनिता सिंगार दोस्रो, प्रसिद्ध मावि मन्थलीका आरती सापकोटा तेस्रो स्थान, महेन्द्र मावि छतिवनका रोचक घिमिरे र कान्ति माविका जीवन स्याङ्तानले सान्त्वना स्थान हासिल गरेको बुद्ध माविका प्रअ छविलाल विकले जानकारी दिए ।
कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, गाउँपालिका शिक्षा शाखाका नारायण चापागाईं, सिविन बाल हेल्पलाइनका सुजाता पौड्याल, सम्बन्धित विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।