हेटौंडाः शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शैक्षिक संस्था सिकाई केन्द्रित बनाई शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उपयोगितासँग जोड्नुपर्ने बताएका छन् ।
नेकपा पार्टी कार्यालय हेटौंडामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्रि पोखरेलले यस्तो बताएका हुन् । उनले मकवानपुरको चित्लाङमा २ वर्षभित्र पिएचडि सम्मको अध्यापन हुने मदन भण्डारी साइन्स एण्ड टेक्नोलोजि विश्वविद्यालय बनाउने बताए ।
हाल देशमा ३६ हजार शिक्षकको आवश्यकता रहेको जानकारी गराउँदै मन्त्री पोखरेलले विश्वविद्यालयहरुको ऐेन संशोधन नभएसम्म शिक्षा नीति टुङ्ग्याउन समस्या रहेको बताए ।
मन्त्रि पोखरेलले अवको केही समयमै पार्टीभित्र सहमतिको पद्दतिको आधारमा महाधिवेशन गर्ने तयारी रहेको भन्दै पार्टीलाई व्यवस्थित गर्न सकिएन भने वामपन्थी धेरै समय नटिक्ने बताए । प्रणालीगत ढंगबाट अगाडि बढ्ने हो भने मात्र पार्टीलाई टिकाउन सकिने उनको भनाई छ ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडा, अर्का केन्द्रीय सदस्य केदार न्यौपाने, रामेश्वर राना, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, नेकपा मकवानपुरका नेता बद्री लम्साल, जिल्ला समन्वय समिति मकवापनुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, नेकपा मकवानपुरका कार्यालय टिमका नेता एकलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुरका २ वटा विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी हुन शिक्षामन्त्री पोखरेल हेटौंडा आएका हुन् । उनी नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन आज बिहान कैलाश गाउँपालिकाको नामटार पुगेका छन् ।
त्यस्तै, प्रदेश तीनको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको ‘सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढिकरण’ विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रममा पनि मन्त्रि पोखरेल सहभागी हुने कार्यक्रम रहेको छ । हेटौंडा उपमहानगरपालिका–१६, हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा पनि मन्त्रि पोखरेल सहभागी हुने कार्यक्रम रहेको छ ।