हेटौंडाः जल्दोबल्दो समस्याको रुपमा रहेको डेंगु नियन्त्रण तथा रोकथामका लागि आज हेटौंडामा सरोकारवालाहरुसँग सचेतानामुलक अन्तरक्रिया कार्यक्रम भएको छ ।

हेटौंडाका विभिन्न वडामा फैलिएको डेंगु र त्यसको रोकथामका लागि सरोकारवालाहरुलाई सचेत गराउने उदेश्यका साथ वडा प्रहरी कार्यालय हेटौंडाले अन्तरक्रियाको आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरपालिका नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीले डेंगु नियन्त्रणका लागि उपमहानगरपालिका विभिन्न वडामा संचालन गरिएको खोजी तथा नष्ट अभियान र यसको नियन्त्रणका लागि गर्न सकिने अभ्यासका बारेमा सहजीकरण गरेका थिए ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ थानाभर्याङका अध्यक्ष सालिकराम पुडासैनीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा वडा–४ का अध्यक्ष नविन सिग्देल, प्रदेश तीन स्वास्थ्य निर्देशनालयका रमेश अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रतिनिधि बाल कृष्ण बस्नेत, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, अटो रिक्सा व्यवसायी संघका केन्द्रीय सदस्य सुधिर थापा, टोल विकास समितिका प्रतिनिधि, विद्यार्थी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र करिब ९ सय जनामा डेंगु देखिएको र डेंगु संक्रमण हुनेको संख्या थप हुँदै गएकोले सचेतना अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको आयोजकले जनाएको छ । –छहारी नेटवर्कबाट