हेटौंडा,२६ भदौः फूटबलमा माझी समुदायका युवाहरुलाई सहभागी गराई सिमान्तकृत समुदायको पहिचानमा सहयोग पुर्याउने उद्देश्यका साथ मकवानपुरमा प्रथम राष्ट्रिय माझी गोल्डकप–२०७६ को तयारी थालिएको छ । आगामी कात्तिक १ गतेदेखि सञ्चालन हुने प्रतियोगिताबारे आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।

प्रतियोगिताबारे जानकारी दिँदै नेपाल माझी उत्थान संघ, मकवानपुरका अध्यक्ष आशिष माझीले देशभर छरिएर रहेका माझी युवाहरुलाई समेट्ने गरी कार्यक्रम हुन लागेको बताए । सिमान्तकृत माझी समुदायका युवाहरु अन्य क्षेत्रमा जस्तै खेलमा पनि पछाडी रहेकाले उनीहरुको प्रतिभालाई उजागर गर्नका लागि प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
मकवानपुरको बकैया गाउँपालिका,४ जुरेलीस्थित खेल मैदानमा हुने प्रतियोगितामा करिब १२ देखि १६ टिमको सहभागी हुने अपेक्षा लिइएको खेलकूद संयोजक श्यामसुन्दर माझीले बताए । विशेष गरी माझी जातिको बसोबास रहेको क्षेत्रहरु प्रदेश १, २ र ३ तथा पश्चिमका जिल्लाहरुबाट समेत खेलाडी आउने सम्भावना रहेको उनले बताएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत रुपमा उत्कृष्ट खेलाडीले ५/५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र पहिचानका लागि खेल”भन्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन हुने माझी समुदायका अगुवा लक्ष्मी माझीले बताइन् । कार्यक्रमको आर्थिक संयोजक समेत रहेकी माझीले देशमै पहिलोपटक हुन लागेको यस कार्यक्रममा सबै क्षेत्रबाट सहयोग मिल्ने विश्वास लिइएको बताइन् । कार्यक्रममा करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
खेलाडीलाई आयोजकले नै व्यवस्थापन गर्ने र टिमसँग कुनैपनि शुल्क नलिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला फूटबल संघका अध्यक्ष टिका लामा, खेलकूल क्षेत्रका अग्रजहरु राजेन्द्र श्रेष्ठ, दिपेन्द्र ढकाल लगायतले पहिलोपटक हुन लागेको यस प्रतियोगितालाई शुभकामना दिँदै आवश्यक सहयोग गर्ने बताए । प्रतियोगिताले देशभर राम्रो सन्देश दिने वक्ताहरुको भनाई थियो ।